images
images
  • चेक बाउन्सले बढायो बैंकिङ कसूर : धमाधम पक्राउ पर्दै अभियुक्त, के हो चेक बाउन्स ?

    काठमाडौं- दैनिक जसो बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो समय बैंकिङ कुसरका घटना बढ्दै गएको देखाउँछ । पछिल्लो समय चेक बाउन्सपछि अदालतबाट बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइ कैद र जरिवान तिर्न बाँकी रहेका अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ ।

    खातामा पैसा नै नभएको चेक दिएपछि

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप सुनापाती गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी बस्ने बिनोद लामा भन्ने ४३ वर्षीय बिनोद घिसिङ पक्राउ परेका छन् । उच्च अदालत पाटनको २०७८ पुस २७ गतेको फैसलाले बैंकिङ कसूरका ३ थान मुद्दामा २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

    बिनोदले मेघा बैंक लिमिटेड बौद्ध शाखाको आफ्नो खातामा पर्याप्त रकम नभएको भनी जानी–जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

    तीन दिन जेल सुनाइएकी विष्णुमायाँ पक्राउ परिन

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले (सीआईबी) बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रक्राउ गरेको छ । सीआईबीले रामेछापको खाँडदवी गाविस ४ स्थायी घर भई काठमाडौं महानगरपालिका ८ गोकर्णेश्वरबस्ने ४२ वर्षकी विष्णुमायाँ योन्जनलाई प्रक्राउ गरेको हो ।

    उनले एनएमवि बैंक लिमिटेडमा रहेको खातामा पर्याप्त रकम नभएको थाहा पाउँदा झुक्याएर चेक दिएकी थिईन । उनलाई सीआईबीले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिमको कसूरमा अदालतमा मुद्धा दायर गरिएको जनाएको छ ।

    उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ को फागुन १३ गते फैसला गर्दै योन्जनलाई बैकिङ कसुर अन्तरगत ७ लाख रुपैयाँ जरिवाना सहित तीन दिन कैद भुक्तानीको फैसला सुनाएको थियो । प्रहरीले उनलाई बुधबार टेकुबाट प्रक्राउ गरेर फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

    पक्राउ परे धनबहादुर

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन खैरहनी नगरपालिका–४ ठेगाना भएका ३५ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाले बैंकिङ कसूरमा मुद्दामा ६ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले चितवन खैरहनीबाट पक्राउ गरेको हो ।

    कुमारी बैंक लिमिटेड सौराहा शाखामा तामाङको नाममा रहेको प्रयाप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७५ भदौ १० गतेमा दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

    यी त केहि पछिल्ला केहि घटनाहरु मात्रै हुन् । तर पछिल्लो केहिदिन यता बैंकिङ कसुर मुद्दामा फरारहरु पक्राउ पर्ने क्रम जारी छ । केन्द्रीय अनुसन्धान व्यूरो सीआईविका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढाएको बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’ बैंकिङ कसूरको घटना ३ वर्ष पहिलाको र अहिलेको संख्या हेर्ने हो भने दोव्वर बढेको उहाँ बताउहुन्छ । १० वर्ष पहिला बैंकिङ कसूरको घटना १० प्रतिशत मात्र हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो छ । अब फाइनान्सियल क्राइमको घटना बढ्छ । त्यहाँ चेक बाउन्स घटना बढी छ । उहाँ भन्नुहुन्छ, ‘हामीले चेक बाउन्सको फैसला कार्यान्वयन मात्र हेर्ने हो । सीआईबीमा भएको आठ ओटा पिल्लरमध्ये एउटा डेडीकेटेड पिलर छ । त्यस पिल्लरको काम भनेको फरार भएका अपराधीहरुलाई अदालतमा लगेर बुझाउने काम हो ।’

    के हो चेक बाउन्स ?

    भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।

    पटक-पटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ ।

    यसरी बाउन्स हुन्छ चेक

    कम्पनी वा संस्थासँग सम्बन्धित व्यक्ति हो भने चेक लिँदा सकेसम्म कम्पनीको नामको चेक लिनु पर्छ । चेक लिएर बैंक पुग्दा पर्याप्त मौज्दात नभएमा बैंकलाई सम्बन्धित खातावाललाई जानकारी गराइदिन जानकारी गराउनु पर्दछ । लगातार तेस्रो पटकसम्म पर्याप्त मौज्दात नभएको अवस्था आए चेक बाउन्सको उजुरी गर्न सकिन्छ । बैंकलाई नै चेक बाउन्स गरिदिन अनुरोध गर्दा सम्बन्धित बैँकले नै चेक बाउन्स भएको पुर्जी उपलब्ध गराएपछि चेक पहिलो पटक बाउन्स हुन्छ । पहिलो बाउन्स भएको एक सातासम्म पनि पैसा हातमा नपरे फेरी बैँकलाई दोस्रो पटक चेक बाउन्स गरिदिन अनुरोध गर्नु पर्दछ ।

    कहिलेकाँही बैंकले व्यापारिक फाइदा हेरेर चेक बाउन्सको उजुरी अस्विकार गर्न सक्छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैँकको जनसंपर्क महाशाखामा गएर उजुरी गर्न सकिन्छ । लगातार दोस्रो पटक चेक बाउन्स भएपछि बैँकलाई उक्त खातावाललाई कालो सुचीमा राखिदिनको लागि निवेदन दिन सकिन्छ । सोही निवेदनसँगै खातावाल व्यक्ति वा संस्था कालो सुचीमा पर्दछ ।

    पैसा अशुलका लागि सम्पुर्ण प्रमाण लिएर प्रहरीमा उजुरी दिन सकिन्छ । कुनै संस्था वा कम्पनीको नामको चेक बाउन्स भयो र कालो सूचीको लागि निबेदन दिनु अघि नै संस्था कालो सूचीमा पर्ने डरले पैसा भुक्तानी चाँडो हुन सक्छ । कालो सुचीमा परेका मान्छेले कुनै पनि व्यवसाय गर्न नपाउने प्रावधान छ । आफ्नो पैसा अशुल गर्नको लागि भने प्रहरीमा सप्रमाण उजुरी गरेपछि पक्राउ गरि पैसा असुल गर्न सकिन्छ ।

    चेक बाउन्स भए के गर्ने त ?

    बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैङ्कमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैङ्क तथा वित्तीय संस्थाले उजुरी गर्नुपर्छ ।

    हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ ।

    कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउने छैन । खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेका कारण कुनै चेकको भुक्तानी हुन नसकेको पनि जानकारी प्राप्त हुनासाथ सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कुनै माध्यमबाट सम्बन्धित खातावालालाई प्रचलित कानूनी व्यवस्थाअनुसार जानकारी गराउनुपर्नेछ ।

    यसरी जानकारी गराएको अवस्थामा समेत उक्त चेकको भुक्तानी हुने व्यवस्था नगरेको खण्डमा त्यस्तो चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनीलाई कालोसूचीमा राख्न सिफारिश गरी पठाउनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images