काठमाडौं- न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ लिएर फरार महिला पक्राउ परेकी छन् । ९ जना युवालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल रहेकी छन् । उपत्यका अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक निदेश कुमार आचार्यले बताए ।
उनले सिन्धुलीको दुधौली–१ का नारायण बोगटीलगायत ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ। ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो।
मंगलबार साँझ उनलाई कपनको निलो पुलबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए। प्रहरीको पक्राउमा परेकी पौडेललाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।






















