images
images
  • भारतीय कोठीबाट जसले मुक्ति दिलाए उनैको पाँच लाख सुपारी दिएर जानुकाले गराइन् हत्या

    काठमाडौं- भारतीय नागरिकको हत्या आरोपमा झापाबाट तीन जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिका–४ मा ह्युम पाइपभित्र बोरामा फेला परेको शवको अनुसन्धान गर्दै जाँदा तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् बिर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार रहेका छन्।

    असार १२ गते भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको शव ह्युम पाइपभित्र फेला परेको थियो। उनको शवसँगै भारतीय आधार कार्ड फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

    इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार यो घटनामा मुख्य रूपमा जोडिने व्यक्ति जानुका हुन्। जानुका २०७६ सालमा वैदेशिक रोजगारीको लागि दिल्ली पुगेकी थिइन्। मंसिर–पुसमा दिल्ली पुगेकी जानुकालाई त्यहाँबाट दलाल समूहले गुजरातमा लगेको थियो।

    गुजरातको एउटा कोठीमा जानुकालाई दलाल समूहले पुर्‍यायो। उनी त्यहाँबाट मुक्त हुन खोजिन्। ठिक त्यही बेला जपडियासँग उनको भेट भएको थियो। जपडियाले उद्धार गरेर आफ्नो घरमा लगे। करिब दुई महिना घरमा राखेपछि जानुकालाई नेपाल पठाइदिए।

    ‘उनले काँकडभिट्टापारि पानीट्यांकीसम्म ल्याइदिएको अनुसन्धानले देखाएको छ,’ कुँवर भन्छन्, ‘त्यसपछि जपडिया नेपाल आउने–जाने गर्न थाले। यो सिलसिला चलिरहँदा जानुकाले जपडियाको सहयोग लिन थालेको पनि देखिन्छ। २०७६ फागुन अन्तिमतिर जपडिया नेपाल आएका थिए। त्यसबेला जानुकाले सहयोग मागेकी थिइन्। गुजरात पुगेर जपडियाले पाँच लाख रुपैयाँ जानुकालाई पठाइदिएका थिए।

    नेपाल–भारत ओहोरदोहोरका क्रममा जपडिया जानुकाको घर पुग्थे। एक पटक जपडियालाई २०७९ वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गर्‍यो।

    उनी ५९ हजार रुपैयाँ भारुसहित पक्राउ परेका थिए। प्रहरीले जपडियालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठायो। राजश्वले २ लाख ८० हजार रुपैयाँ धरौटीमा जपडियालाई छोडेको थियो। जपडिया अब भारु प्रकरणको मुद्दामा राजश्व कार्यालयमा तारिख धाउन थाल्नुपर्ने भयो।

    गत जेठमा जपडिया तारिख लिन नेपाल आएका थिए। त्यसबेला जानुकाकै घरमा बसेका थिए। जानुकाको घरमा बस्दा मदिरा सेवन गरी जपडियाले दुर्व्यवहार गरेका थिए।

    ‘जानुकालाई आफूसँग बिहे गर्न दबाब दिन थालेका थिए, त्यसो नगरे राम्रो हुँदैन भनी धम्क्याउन थालेका थिए,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने। कुँवरका अनुसार त्यही बेलादेखि उनीहरूको सम्बन्धमा खटपट हुन थाल्यो। जानुका र उनका श्रीमान् बिर्खबहादुरले जपडियालाई आफ्नो बाटोबाट हटाउन के गर्ने भनी सल्लाह गर्न थाले।

    जानुकाले माइतीपट्टीको सम्बन्धबाट राम्रो चिनजान भएका सुरेश परियारलाई सम्पर्क गरिन्। पाँच लाख रुपैयाँ दिने सर्त राखेर जपडियाको हत्या गर्नुपर्ने प्रस्ताव राखिन्। सुरेशले सहजै स्वीकार गरे।

    असार ९ गते जपडियाको तारिख थियो। जपडिया ८ गते नेपाल आउँदैथिए। यो खबर पाएपछि सुरेश र अर्का (फरार) व्यक्ति जानुकाको घर अर्जुनधारा पुगे। जपडिया ८ गते अर्जुनधारा आए। ९ गते उनी तारिख लिन राजश्व कार्यालय इटहरी गए।

    तारिख लिएर फर्केपछि जपडियासँग सुरेश र उनका अर्का साथीले मदिरा पिउने योजना बनाए। मदिरा पिउनु त बहाना थियो, नशामा लठ्ठ भएपछि जपडियाको हत्या गर्नुथियो।

    नशामा लठ्ठिएपछि जपडियाको टाउकोमा हथौडा प्रहार गरी सुरेश र उनका साथी हत्या गरे। शव पोको पारेर बोरामा राखे। हत्यापछि सुरेश र उनका साथी बोरामा शवसँगै पुर्नका लागि भनेर फरुवालगायतका सामान बोकेर बाहिर निस्किए। जानुकाको घरबाट चार किलोमिटर टाढा पुगेपछि पुर्ने योजनाबाट पछि हटेर दुबैले शव ह्युम पाइपभित्र छोडेर हिँडे। शव व्यवस्थापनको काम सकियो। सबै जना ढुक्क थिए।

    १२ गतेबाट शवको गन्ध बाहिर आउन थाल्यो। स्थानीयले कहाँबाट गन्ध आयो भनी खोज्दै जाँदा ह्युम पाइपभित्र बोरा देखे।स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरे, त्यसपछि प्रहरीले सबै पक्षबाट अनुसन्धान सुरू गर्‍यो। अन्तिममा जानुका नै यो हत्याको सूत्रधार थिइन् भन्ने प्रहरीको टेक्निकल अनुसन्धान समूहले पत्ता लगाएको छ।

    जानुकासहित उनको योजनामा काम गर्ने श्रीमान् बिर्खबहादुर र सुरेशलाई १८ गते तीनै जनालाई नियन्त्रणमा लिन सफल भएको कुँवरले बताए। फरार सुरेशका साथीको खोजी भइरहेको कुँवरले बताए। पक्राउ परेका तीनै जनालाई आइतबार कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत झापाबाट ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले जानकारी दिए।

    सरसर्ती हेर्दा यो घटना जपडियाले जानुकासँग सम्बन्ध स्थापित गर्न खोजेपछि घटेको देखिएको कुँवर बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images