काठमाडौं- नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठले बताए । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले भने आफूलाई नयाँ उपप्रजाति भेटिएको औपचारिक जानकारी नभएको बताएको छ ।
‘केयूले जिन सिक्वेन्सिङ गर्दा ‘बिए डट फाइभ’ पुष्टि भएको भन्ने अनौपचारिक रूपमा सुन्नमा आएको छ । हामीलाई आधिकारिक रूपमा कुनै जानकारी गराएको छैन,’ निर्देशक डा.रुना झाले भनिन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जिआइएसएआइडी अनलाइनमा सार्वजनिक भएपछि मात्रै जानकारी पाएको निर्देशक झाको भनाइ छ । व्यक्तिगत अनुसन्धानमा गरिएका नमुनाको जिन सिक्वेन्सिङ जानकारी नगराई सीधै सार्वजनिक गरिएकोमा उनले असन्तुष्टि जनाइन् ।
केयूको प्रयोगशालामा कार्यरत कर्मचारीले नयाँ प्रजाति पुष्टि हुना साथ जिआइएसएआइडीमार्फत संसारभर हेर्न मिल्ने गरी सार्वजनिक गरेका थिए । स्रोतका अनुसार सानेपामा रहेको स्टार अस्पतालमा संकलन भएको नमुना धुलिखेल लगेर जिन सिक्वेन्सिङ गरिएको थियो । कसको नमुना हो भन्ने खुलाइएको छैन ।
केन्द्रीय प्रयोगशालाका अनुसार हालसम्म ओमिक्रोनको नयाँ उपप्रजाति बिए १.१, बिए २, बिए २.३, पछिल्लो समय नेपालमा बिए २।१।२, बिए ४, बिए ५ पुष्टि भइसकेको थियो । अहिले नेपालमा सोही बिए ५ देखिएको हो । अनुसन्धानकर्ता डा। सन्तोष दुलालका अनुसार नेपालमा हाल देखिएको ‘बिए डट फाइभ’ प्रजातिको भाइरस अफ्रिकामा पहिलोपटक २५ फेब्रुअरीमा देखिएको थियो ।
‘ओमिक्रोनको प्रजाति भएकाले संक्रमण बढाउँछ कि भन्नेमा विज्ञ सचेत छन् । तर, यसले गर्ने असर र ल्याउने जटिलताबारे कसैले आकलन गर्न सकेका छैनन्,’ डा.शेरबहादुर पुन भन्छन् । केस बढेको आधारमा उनीहरूको जटिलता हेरेर खोप लगाए–नलगाएको, रोगी भए–नभएकोजस्ता विभिन्न विषयमा केन्द्रित भएर अध्ययन गर्न आवश्यक भएको उनको बुझाइ छ ।
अफ्रिकाबाट सुरु भएको ‘बिए डट फाइभ’ प्रजाति हाल एक सय १० देशमा पुगेको छ । जर्मनी, पोर्चुगल, बेलायत र अमेरिकामा धेरै फैलिएको छ । छिमेकी देश भारतमा पनि ‘बिए डट फाइभ’का केसहरू देखिएको डा। दुलाल बताउँछन् । नेपालमा ढिलो पुष्टि हुनुमा हाम्रो सामान्य पिसिआरले नयाँ प्रजातिको एस जिन पत्ता लगाउन नसकेको पनि हुन सक्छ ।
पछिल्लो २४ घन्टामा देशमा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दुई हजार एक सय २० भन्दा बढी नमुना परीक्षण गर्दा उक्त संख्या थपिएको हो । यस अवधिमा २० जना मात्रै निको भएका छन् । हाल देशमा तीन सय ३३ सक्रिय संक्रमित रहेका छन् ।


विश्व खबर 



















