काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले गएराति सम्पन्न खेलमा स्थानीय क्लब ओन्टारियो एकेडेमीविरुद्ध ५५ रनको जित हात पारेको हो ।
अघिल्लो एकदिवसीय अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट भयो ।
नेपालले मंगलबार र बुधबार क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्यानडापछि नेपाली टिम आइसिसी विश्वकप लिग ९२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।
नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।



विश्व खबर 


















