काठमाडौं- अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले शान्ति मिसनमा नेतृत्व तहमा नेपाली सैनिक अधिकारीलाई अवसर दिन आग्रह गरेका छन् । सैनिक अधिकारीहरूका अनुसार भेटवार्तामा प्रधानसेनापति शर्माले राष्ट्रसंघीय अधिकारीसँग शान्ति स्थापक मिसनहरूमा नेपाली सैनिक अधिकारीलाई नेतृत्वदायी भूमिका उपलब्ध गराउन आग्रह गरेका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा उच्च अधिकारीसँगको भेटवार्तामा प्रधानसेनापति शर्माले दुईपक्षीय आपसी हित, पारस्परिक सम्बन्ध र शान्ति स्थापक मिसनमा नेपाली सैनिकले सामना गरिरहेका समस्याबारे छलफल गरेका छन् ।
यसपटक दुईवटा फरक–फरक शान्ति स्थापक मिसनमा फोर्स कमान्डरका लागि उपरथीद्वय निर्मलकुमार थापा र विनयविक्रम राणाले प्रयास गरेका छन् । हाल गोलान हाइट्सस्थित शान्ति स्थापक मिसनका फोर्स कमान्डर रथी ईश्वर हमाल छन् । हमालको कार्यकाल सकिन लाग्दा त्यहाँको फोर्स कमान्डरका लागि उपरथी विनय राणा प्रतिस्पर्धामा छन् । सुडान मिसनका लागि फोर्स कमान्डरको प्रतिस्पर्धामा उपरथी थापा छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)का लागि फोर्स कमान्डरमा कोसिस गरे पनि उपरथी अशोक सिग्देल सफल भएनन् ।
यसअघि प्रधानसेनापति शर्माले वासिङ्टन डिसीमा अमेरिकी सेना र रक्षा मन्त्रालयका अधिकारीसँग भेटेर नेपाल–अमेरिका सैन्य सम्बन्धबारे छलफल गरेका थिए । शर्माले बिहीबार अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स चाल्र्स म्याकोनभिले, रक्षा मन्त्रालयको दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसिया हेर्ने उपसहायक मन्त्री लिन्डसे डब्लु फोर्ड र अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ द स्टाफका उपाध्यक्ष एड्माइरल क्रिस्टोफर डब्लु ग्रेडीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
‘भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल तथ विचार–विमर्श भएको थियो,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेबनान र सिरियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन भ्रमण सकेर प्रधानसेनापति शर्मा १३ असारदेखि अमेरिकामा छन् ।






















