काठमाडौं- अनुभवी बैंकर ज्ञानेन्द्र ढुङ्गाना नेपालको अग्रणी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । गत जेठ ७ गते बसेको बैंकको विशेष साधारणसभाको निर्णय अनुसार ढुङ्गानाले आज (असार १७ गते) अर्थात् जुलाई १ देखिनै नबिल बैंकको नेतृत्व सम्हाल्ने भएका हुन् । ढुङ्गानाले सीईओको नियुक्ति पत्र समेत लिइसकेका छन् ।
तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील ढुङ्गाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ रहेका थिए । उनले नेतृत्व सम्हाल्दै आएको बंगलादेश बैंक नै नबिलमा गाभिने भएपछि मर्जर पछिको ठूलो बैंकको नेतृत्वको जिम्मेवारी सम्हाल्ने अवसर समेत स्वयं ढुङ्गानाले पाएका हुन् । योसँगै शुक्रबारदेखि ढुङ्गाना सीईओको रूपमा नबिल बैंकमा इन्ट्री गर्ने छन् ।
नम्बर वान बैंक नबिलको नेतृत्व सम्हाल्दै गरेका सीईओ ढुङ्गाना आफू जस्तो सुकै समस्या र चुनौतीको पनि सामना गर्न तयार भएको बताउँछन् ।
‘देशकै नम्बर वान बैंकलाई नम्बर वानमा नै राख्न र अझ उत्कृष्ट बनाउनका लागि नै आएको हुँ । जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार छु,’ ढुङ्गानाले भने ।
अहिलेको परिस्थितिमा दुई वटा बैंक मर्जर भएर बन्ने ठूलो बैंकलाई अझ उत्कृष्ट बनाउन आफ्नो अहम् भूमिका रहने र वित्तीय स्थायित्वका लागि जस्तोसुकै कठिन परिस्थितिमा पनि कुशल नेतृत्व प्रदान गर्ने उनको दाबी छ । बैंकको पर्फमेन्स, कर्मचारी व्यवस्थापन र लाभग्राहीको हितलाई सधैँ सर्वोपरिमा राखेर काम गर्ने उनले बताए ।
को हुन् ज्ञानेन्द्र ढुङ्गाना ?
तेह्रथुममा जन्मिएका ढुङ्गाना खास चार्टर्ड एकाउन्टेन्ट हुन् । चार्टर्ड एकाउन्टेन्टको पढाई पुरा गरेसँगै २०५२ सालमा बैंकिङ क्षेत्र प्रवेश गरेका उनी अनवरत रूपमा तीन दशकदेखि यसै क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । २०५२ सालमा बैंक अफ काठमाण्डू (बिओके) बाट बैंकिङ करिअर सुरु गरेका ढुङ्गानाले झण्डै २५ वर्ष त नेतृत्वदायी भूमिकामा नै रहेर काम गरेका छन् ।
बिओकेमा झण्डै ७ वर्ष काम गरेका सीए ढुङ्गाना वि.स २०५९ मा नेपाल राष्ट्र बैंकको जागिरे भए । राष्ट्र बैंकमा निर्देशक हुँदै १० वर्ष अनुभव सङ्गालेका ढुङ्गाना पछि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धक बने । त्यसपछि नेपाल बंगलादेश बैंकको सीईओ बनेका ढुङ्गानाले १० वर्ष सोही बैंकको नेतृत्व सम्हाले । नबिलसँग मर्जर हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व गरेका थिए । सो समयमा बैंकको वित्तीय अवस्था सुधारमा ढुंगानाको निकै महत्त्वपूर्ण भूमिका रह्यो । गत पुस अन्तिम साता मात्र ढुङ्गाना नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन् ।
सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैङ्कहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए ।


विश्व खबर 


















