काठमाडौं- मधेस सरकारले आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने भएको छ । सहिद परिवारको भरणपोषण बापत गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले मासिक २१ हजार रुपैयाँ दिन लागेको हो ।
सहिदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिने प्रतिष्ठानको तयारी छ । प्रतिष्ठानले भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम २१ हजार रुपैयाँका दरले दिन लागेको हो ।
सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रूपमा छात्रवृत्ति दिने छन् ।
भरणपोषण तथा छात्रवृत्तिका लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरूलाई आह्वान गरेको छ ।
यस्तो सुविधा मधेस आन्दोलन र जनयुद्धमा सहिद भई नेपाल सरकारबाटसमेत सहिद घोषणा भएकाको परिवारले पाउने प्रावधान छ ।






















