काठमाडौं- साउदी अरेबियमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राई रहेका छन् । राईले साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका थिए । राईको मृत्यु भएको महिना दिन वितिसक्दा पनि मेनपावरले शव फिर्ता ल्याउन सहयोग नगरेको परिवारले आरोप लगाएका छन् ।
रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।
उनी मासिक एक हजार रियल तलबमा काठमाडौं एचआर सोलुसन प्रा.लिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।
मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक–पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई–तीन हप्ता बितिसक्यो ।
आठ–नौ पटक मेनपावर धाइसक्यौं,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’






















