images
images
  • राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार राजीनामा दिएकी छन्।

    उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन्। राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले नेपालखबरलाई जानकारी दिए।

    गत जेठमा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि छानबिन गर्न सरकारले समिति बनाएको थियो।

    यहीबीच वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्।

    गाडी दुर्घटनामा पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनमा तत्कालीन नेकपाबाट उम्मेदवार उनी विजयी भएकी थिइन्।

    तर ऋषि कट्टेलले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै दिएको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको नेकपा भंग गरेपछि गत वैशाख १९ गते विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि पार्टीले उनलाई प्रदेश सरकारको राज्यमन्त्री बनाएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images