
काठमाडौं- गृह मन्त्रालयले रिक्त रहेका १७ दरबन्दीका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
बढुवाको सिफारिसको एक नम्बरमा वसन्त कुँवर छन् भने २ नम्बरमा टेकप्रसाद राई छन् ।
अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।जसमा यो पटक प्रतिस्पर्धामा चार महिला एसएसपी पनि थिए ।
०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।
उनीहरू चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसङै प्रहरीमा नयाँ इतिहास बनेको छ ।
प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्