
काठमाडौं- मारिको हिलले ४५ रन बनाएपछि हङकङले आज एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाललाई ७ विकेटले हराएको छ । जितसँगै हङकङले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । नेपालको यो समूहमा अन्तिम खेल हो । हङकङले अझै कुवेतविरुद्ध खेल्न बाँकी छ । नेपाल र हङकङको समान ६ अंक छ । तर, रनरेटमा हङकङ शीर्ष स्थानमा छ ।
तीन अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । एक अंक जोडेको बहराइन चौथो र अंकविहीन भुटान पाँचौँ स्थानमा छ । अन्तिम खेलमा भुटानले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस्