काठमाडौं- गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको लागी खुल्ला गरिएको सो बचतपत्रमा लगानी गर्न सबै गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन् । आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि यो ठूलो अवसर भएको बताउँदै सो बचतपत्र मार्फत लाभान्वित हुन आग्रह गरे । उनले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुल्ला गरे पछि विदेशमा रहेका नेपाली उत्साहित रहेको बताए ।
वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताले १२.५ प्रतिशत ब्याज पाउँछन । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो ।
बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निस्शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ ।
देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् ।
अहिले लगानी गरेको पैसाँ असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।


विश्व खबर 



















