काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा मृत्यु भएका कैदी सुन्दर हरिजनको मृत्युबारे स्थलगत र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न एक समिती गठन गरेका छन् । गत जेठ ४ गते कैदी मृत्यु भएका हरिजनको मृत्यु बारे छानबिन गर्न मन्त्रालयका एक सहसचिवको नेतृत्वमा समिति गठन गरिएको हो । मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको जानकारी दिनुभयो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
सूचना अधिकारी भट्टराईले यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको पनि बताउनु भएको छ । कारागारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।


विश्व खबर 



















