images
images
  • सर्वोच्चको आदेशविरुद्ध निजगढमा आन्दोलन चर्किँदै

    बारा । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाविरुद्द आन्दोलन सुरु भएको छ ।

    निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गर्दै आन्दोलन थालनी गरेका हुन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आईतबार भएको चक्काजामले यहाँको यातायातलाई पूर्ण रुपमा ठप्प पारेको छ ।

    सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राखिने स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले जनाएको छ । धर्नाका सहभागीले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउँदै चक्काजाम गरेका हुन् ।

    मञ्चले आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुस प्रदर्शन गरिने जनाएको छ । त्यस्तै, काठमाडौंमा बस्दै आएका निजगढवासीले पनि आजै दिउँसो २ः ३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    निजगढ सरोकार समितिले पनि सर्वोच्चको अविवेकी फैसलाको पुर्नविचार हुनुपर्ने भन्दै अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न थालिएको जनाएको छ । विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संयुक्त संघर्ष समिति समेत गठन गर्न लागिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images