काठमाडौं । बीसभन्दा बढी मुलुकमा देखिएको ‘मंकीपक्स’ रोगबाट नेपालमा पनि सचेत हुनुपर्ने विज्ञहरुले बताएका छन् । हालसम्म यो भाइरस नेपालमा नदेखिएको भए पनि
जोखिममा भने पर्न सक्ने विज्ञहरुले औैल्याएका हुन् । विश्वको कुनै एक भागमा संक्रमण फैलिएपछि हजारौं किलोमिटर टाढा रहेका मुलुकसमेत जोखिममा रहने र संक्रमण विस्तार हुन सक्ने भएकाले सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले मंकीपक्सको शंकास्पद केस नेपालमा पत्ता नलागे पनि निरन्तर निगरानी गरिरहेका जानकारी बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सल्लाह र जानकारीका आधारमा सम्भावित संक्रमणविरुद्दको रणनीति बनाइरहेको पनि दासले उल्लेख गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले पनि कुनै व्यक्तिलाई ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिए हटलाइन १११५ मा जानकारी गराउन आग्रह गरेको छ ।
मंकीपक्स देखिएका मुलुकबाट आएकालाई कम्तीमा तीन सातासम्म स्वास्थ्य निगरानीमा राख्नुपर्ने विज्ञहरूले सुझाव छ । ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले प्रभावित देशबाट आउनेलाई सरकारले निगरानीमा राख्नु र आमव्यक्तिमा संक्रमणबारे सुसूचित गर्न जरुरी रहेको बताए ।
डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्छ । श्वासप्रश्वास, थुक, र्याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने जोखिम रहन्छ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको छ । संक्रमण भएदेखि सामान्यतया ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । कहिलेकाहीं यो समय ५ दिनदेखि २१ दिनसम्म पनि हुने विज्ञहरु बताउँछन् ।
हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको नभए पनि मंकीपक्स बिफर (स्मल पक्स) परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ । डा. ठाकुरको भनाइका अनुसार बिफरको खोप मंकीपक्सका लागि ८० देखि ८५ प्रतिशत प्रभावकारी देखिएको छ र बिफर उन्मूलन भएको भन्दै नेपालमा ४२ वर्षअघि नै खोप लगाउन बन्द गरिएको थियो ।


विश्व खबर 



















