काठमाण्डौँ- चितवनको भरतपुर महानगरपालिका १० बालमन्दिर रोडस्थित शिखर इन्स्योरेन्सको शाखा कार्यालयमा आगलागी हुदाँ उक्त कार्यालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार दिउसो १ः१५ बजे आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तेस्रो तलामा रहेको कम्पनीको कार्यालय बाहिर झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी भएको हो।
त्यहि क्रममा करेन्ट लागेर इन्स्योरेन्समा कार्यरत भरतपुर(१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरी अधिकारीले बताए।
प्रवक्ता अधिकारीका अनुसार अर्का कर्मचारी भरतपुर(७ का ३२ वर्षीय तरुण थापा घाइते भएका छन्। उनको मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट कार्यालयका फाइल जलेका छन्। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका छन्।


विश्व खबर 




















