images
images
  • ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि : शनिबारसम्म ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं। भारत र बंगलादेशमा ठूलो विध्वंस मच्चाएको शक्तिशाली ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।
    यास चक्रवातको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात भइरहेको छ ।

    यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । चक्रबातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि नै वर्षा भइरहेको छ । यसबीच कतिपय स्थानमा भारी वर्षा समेत भएको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताएकी छिन् ।

    उनका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ, प्युठानमा भारी वर्षा भएको छ । यसैगरी प्रदेश–१ र २ मा पनि हल्कादेखिम मध्यमसम्म वर्षा भएको छ ।

    ‘काठमाडौंमा पनि रातभर वर्षा भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘सुदूरपश्चिम एउटा प्रदेशमा मात्र वर्षा भएको छैन । अहिले ९बिहीबार बिहान० अहिले पनि प्रदेश–१, प्रदेश–२ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा जारी छ । मौसमविद् बासीका अनुसार तर रातिभन्दा अहिले वर्षा केही कम भएको छ ।

    यासको प्रभाव अझै केही दिन रहने र अहिलेसम्मको अनुमानअनुसार कम्तीमा शनिबारसम्म ९सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गरिन्छ० वर्षा र हिमपातको क्रम जारी रहने देखिएकाले होशियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    यस्तो रहने छ आगामी तीन दिनको मौसम

    जेठ १३ गते बिहीबार
    दिउँसो –
     देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    राति – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली–उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    जेठ १४ गते शुक्रबार
    दिउँसो 
    – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    राति – देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    जेठ १५ गते शनिबार
    दिउँसो – 
    देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    राति – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका हिमाली–उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात–वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश–१ का हिमाली–उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images