काठमाडौं- हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ ।
होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।
‘२६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन्’ उनले भने । गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।
यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुनेछ। कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ ।
‘मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाध नचलाउन पनि सर्वसाधारणलाई अपिल छ’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले भने , ‘चाड पर्वको समयमा प्रहरी नियन्त्रणमा पर्नु नपरोस् भन्नेमा सर्वसाधारण आफैं सचेत भइदिनु हुन्छ भन्ने अपैक्षा छ ।’
होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिने उनले बताए ।
‘बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध छ’ मैनालीले भने, ‘अनुहार नै नचिनिने गरी विभिन्न रंग रोगन गरी होली नखेल्न पनि अनुरोध छ ।’
कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि उनले अपील गरेका छन् ।


विश्व खबर 




















