images
images
  • किन लगायो काठमाडौं महानगरले बन्चरेडाँडा ल्याण्डफिल साइटमा अनधिकृत व्यक्तिलाई प्रवेशमा रोक ?

    काठमाडौं- काठमाडौं महानगरपालिकाले नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।

    महानगरको वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी सुरक्षा र स्वास्थ्य जोखिमलाई मुख्य कारण देखाएर रोक लगाएको हो ।

    महानगरका अनुसार बन्चरेडाँडामा दैनिक रूपमा काठमाडौं उपत्यका लगायत २३ वटा स्थानीय तहको फोहोरमैला अन्तिम व्यवस्थापन हुँदै आएको छ ।

    फोहोर विसर्जन गर्ने क्रममा फोहोर वा कवाडी टिप्ने बहानामा अनधिकृत व्यक्तिहरू प्रवेश गर्दा विभिन्न स्वास्थ्य समस्या र मानवीय जोखिम सिर्जना भएको महानगरको ठहर छ ।

    सूचनामा उल्लेख भएअनुसार, ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि डोजर, एक्साभेटर, लोडर, जेट र ट्रिपर जस्ता हेभी सवारी साधनहरू निरन्तर सञ्चालनमा रहन्छन् ।

    यस्तो अवस्थामा सर्वसाधारण वा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटनाको उच्च जोखिम निम्त्याउन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यो निर्णय लिइएको हो ।

    को–को जान पाउँछन् ?
    महानगरले आजैका मितिबाट लागू हुने गरी अनुमति प्राप्त व्यक्ति, आयोजनाका कर्मचारी, सुरक्षाकर्मी र आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्तिलाई साइट परिसरमा प्रवेश नगर्न र नगराउन निर्देशन दिएको छ।

    महानगरपालिकाले जारी गरेको सूचनामा कार्य उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ। यदि कसैले सूचनाको अवज्ञा गरी अनधिकृत रूपमा प्रवेश गरे र त्यस क्रममा कुनै दुर्घटना घटेमा कार्यालय जवाफदेही नहुने महानगरले स्पष्ट पारेको छ।

    ल्याण्डफिल साइटमा कबाडीजन्य, प्लाष्टिकका बोत्तल लगायत सङ्कलन गर्न अनधिकृत व्यक्तिहरू जाने गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images