images
images
  • सामूहिक विष सेवन: परिवारको सुसाइड नोट

    काठमाडौं- काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा तीन दिनअघि नै सुसाइड नोट तयार पारेको खुलेको छ । सोमबार राति प्रधान परिवारका ५ जनाले विष सेवन गरेका थिए, एक जनाको मृत्यु भएको छ ।

    काठमाडौं–१५ डल्लु स्थायी घर भएका प्रधान परिवार रामकोटमा डेरा बस्दै आएका थिए । घटनामा ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेका थिए ।

    विष सेवनअघि सुवर्णले आफूहरूले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइट नोट’ पठाएको खुलेको छ । त्यसको केही समयमै आफन्त र प्रहरी डेरामा पुग्दा इन्दिरामाया, भीममान र सुप्रिया एउटा कोठामा, मन्दिरा र सुवर्णमान छुट्टाछुट्टै कोठामा बेहोस भेटिएका थिए ।

    प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्‍याए पनि सुवर्णमानको मृत्यु भएको थियो । बाँकी चार जनाको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

    उनीहरू डा. उद्धव पुरीको घरमा ४ महिनादेखि बस्दै आएका थिए । प्रहरीले घटनास्थलबाट औंठाछाप सहितको ७ पेज लामो सुसाइड नोट बरामद गरेको छ । भीममानको कोठामा भेटिएको नोटमा आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । आफूले ५र६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत उनले खुलाएका छन् । इन्दिरामाया क्यान्सरपीडित र सुवर्णमान पनि दीर्घरोगी भएको खुलेको छ । डिप्रेसनमा रहेको, कमजोर आर्थिक अवस्था र बिरामी परिवारका सदस्यको हेरचाह गर्नुपर्ने कारण भीममान तनावमा रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

    उनकी श्रीमती मन्दिरा ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलनकर्ताका रूपमा काम गर्थिन् । सदस्यबाट उठाएको करिब ७ लाख रुपैयाँ हिनामिना भएको भन्दै सहकारी व्यवस्थापकले आरोप लगाएपछि दुई पक्षबीच खटपट सुरु भएको थियो । सहकारीको उजुरीपछि प्रहरी वृत्त जनसेवाले शुक्रबार मन्दिरालाई छलफलका लागि बोलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images