images
images
  • कार्यभार सम्हाल्न लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

    लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायत आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डन हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्य दम्पतिलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।

    आचार्यले बुधबार नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् । आचार्यको आगमनसंगै पछिल्लो ठीक चार महिनादेखि राजदूतविहिन बनेको लन्डनस्थित नेपाली दूतावासले नयाँ राजदूत पाएको छ ।

    गत अक्टोबर २४ तारिखमा तत्कालिन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएयता दूतावासको कमाण्ड कार्यवाहक राजदूतको रुपमा उपनियोग प्रमुख रोशन खनालले सम्हाल्दै आएकी थिइन् । मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति विध्यादेवी भण्डारीले गत माघ १४ गते आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।

    को हुन् राजदूत आचार्य ?

    २० नोभेम्बर १९६० मा काठमाडौंमा जन्मिएका आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवा प्रवेश गरेका थिए । उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हाले ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए । सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए।

    आचार्यले विगतमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images