images
images
  • के तपाईको लाईसेन्स नक्कली त छैन? सावधान ! अन द स्पट कारबाहीमा परिएला

    काठमाडौं- के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै (अन द स्पट) चेकजाँच गर्ने व्यवस्था सुरु गरेको छ ।

    सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालकअनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका छन् ।

    विभागका महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालिन अबस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत स्क्यान गरि सजिलै नक्कलीरसक्कली छुट्याउन सक्ने बताए ।

    उनले एक बर्षे परिक्षणकालको अबधिमा पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको जानकारी दिए ।

    महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने रहेको जानकारी दिए । अबदेखि ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्स मार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए ।

    उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले प्रबिधीको प्रयोग गरि लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा विश्‍वास व्यक्त गरे । कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण गरिने उनको भनाइ छ ।

    कसरी काम गर्छ त, एप्सले ?
    बिशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स प्रमाणीकरण गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ ।

    उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images