images
images
  • एमालेले तोड्यो मौनता, एमसीसीको पक्षमा मतदान नगर्ने

    काठमाडौं– नेकपा एमालेले एमसीसीमा समर्थन नगर्ने भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेको यस्तो धारणा आएको हो ।

    यसअघि सत्ता गठबन्धनको निर्णयपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने अडान लिएको एमालेले अहिलेको अवस्थामा एमसीसीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेको हो ।

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा एमसीसी टेवल भएमा विपक्षमा मतदान गर्ने बताएका हुन् । उनले भने ‘एमालेले अहिलेको अवस्थामा एमसीसीको पक्षमा मतदान गर्दैन, संसदमा टेवल भयो भनेपनि विपक्षमा मतदान गछौँ,’ स्थानीय तहको निर्वाचन नजिकिएकाले पनि एमाले एमसीसीको विपक्षमा लागेको हुनसक्ने विश्लेषण गरिएको छ ।

    जनस्तरमा एमसीसीबारे नकारात्मक छाप परेकाले त्यसको समर्थनमा जाँदा चुनावमा असर पर्नेभएकाले एमालेले विरोधको रणनीति लिने बुझिएको छ । यता कांग्रेस भने एमसीसी पास गराउने कसरतमा छ । भोलि बस्ने संसद बैठकमा एमसीसी टेवल गर्ने सरकारको तयारी छ ।

    आइतबार बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकमा पनि एमसीसीबारे एमाले सांसदहरूले प्रश्न उठाएका थिए ।

    ‘चोलेन्द्रशमशेर जबरा र एमसीसी बोकेर कसरी एमाले चुनावमा जान सक्छ ? यसबारे प्रष्ट भएर हुनुपर्छ’, स्थायी कमिटी सदस्य घनश्याम भूसालले प्रश्न गरेका थिए । अर्का नेता भीम रावलले त एमसीसी राष्ट्रहित विपरीतको परियोजना भएकाले संसदीय दलमा कार्यसूची बनाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    भूसाल र रावललाई ओलीले प्रष्ट जवाफ दिएनन् । चोलेन्द्र बोक्ने मनसाय नभएको जवाफ दिएका ओलीले एमसीसीबारे छोटो जवाफ दिए – उचित समयमा उपयुक्त निर्णय लिइनेछ ।

    त्यो उपयुक्त निर्णय एमसीसीको पक्ष वा विपक्षमा हुने भन्ने निर्णय ओलीले गरेका छैनन् । ‘एमसीसी पारित गराउने, गठबन्धन जोगाउने र स्थानीय चुनावमा एमालेलाई कमजोर बनाउने दुस्प्रयास भइरहेको छ । त्यो सफल हुन दिइँदैन’, ओली निकट एक नेता भन्छन् । ती नेता, बदलिएको राजनीतिक कोर्समा आवश्यक परे एमाले एमसीसी अनुमोदनको विपक्षमा उभिन सक्ने बताउँछन् ।

    सरकारले भोलि (४ फागुनमा) बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसी पेश गर्ने तयारी गरेकाले पक्षमा उभिने कांग्रेसले निर्णय गरेको छ । एमालेले भने अहिलेसम्म एमसीसीबारे औपचारिक रुपमा केही निर्णय गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images