images
images
  • स्थानीय तह निर्वाचनः कार्यतालिका बनाउँदै आयोग

    काठमाडौं-आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाउँदै छ ।

    आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ९० दिनको छोटो समयलाई आयोगले तीव्र रूपमा सदुपयोग गर्दै फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।

    फास्ट ट्र्याकबाट तयारी
    ‘आयोगले ९० दिनको समयलाई सकेसम्म बढीभन्दा बढी प्रभावकारी बनाउँदै निर्वाचनको तयारीलाई गति दिनेछ, मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिकासम्मको विषयमा धमाधम काम भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने जानकारी दिए । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रमसम्म ल्याइनेछ ।

    कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, निर्वाचन चिह्न प्रदान, निर्वाचन समयदेखि मतगणनासम्मको कार्यक्रम समावेश हुन्छ ।

    यस्तै, आयोगले निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिसकेको छ भने संकलित नामावली अद्यावधिकको कामसमेत आयोगले सुरु गर्दै छ । आयोगले ७७ जिल्लामा संकलन भएको मतदाताहरूको नाममा देखिएका त्रुटि सच्याउने, उजुरीमाथि छानबिन गर्ने, दोहोरिएको नाम हटाउनेलगायतका काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।

    यस्तै, जिल्ला निर्वाचन कार्यालय र पालिकाहरूमा दाबी, विरोध र उजुरीका लागि नामावली प्रकाशन हुनेछ । सो प्रक्रियापछि नामावलीमाथि छानबिन हुने र फेरि जिल्लाबाट आयोगमा आएपछि आयोगबाट अन्तिम नामावली प्रकाशित हुनेछ ।

    सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट ३० वैशाखमा देशका ७ सय ५३ वटै स्थानीय तहमा एक साथ एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा गरेको थियो । निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

    मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तह छन् । ती स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छ । स्थानीय तहको निर्वाचनमार्फत सबैभन्दा ठूलो संरचना महानगरदेखि तल्लो तहको संरचना वडा तहसम्ममा जनप्रतिनिधि चयन हुनेछन् ।

    आयोगले आगामी स्थानीय तह निर्वाचनमा करिब १ करोड ७२ लाख मतदाता कायम हुने अनुमान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images