
काठमाडौं- मकवानपुर राष्ट्रिय सभागृहमा राप्रपा नेपाल र राप्रपा (प्रजातान्त्रिक) बीच २०७६ फागुन २८ मा एकीकरण कार्यक्रम चलिरहेको थियो । राजेन्द्र लिङ्देनले पार्टी एकता हुने र विभाजन हुने प्रसंग उठाएपछि तत्कालीन राप्रपा अध्यक्ष कमल थापाले गीता छोएर कसम खाँदै भनेका थिए, ‘राप्रपा कहिले पनि विभाजन हुन दिन्नँ ।’
थापाले आफ्नै कसम दुई वर्ष नपुग्दै तोडेका छन् । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच भएको एकतापछि गत मंसिर तेस्रो साता भएको महाधिवेशनमा अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि असन्तुष्ट थापाले मंगलबार गृहनगर हेटौंडा पुगेर पार्टी छाडेको घोषणा गरेका छन् । महाधिवेशनमा पराजित भएका थापाले सोमबार मात्रै राजधानीमा राप्रपाका केन्द्रीय सदस्यको भेला गर्दै आफ्ना माग पूरा नभए पार्टीमा नबस्ने चेतावनी दिएका थिए । उनले पार्टीको आन्तरिक मामिलामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर आफूलाई अध्यक्षमा हराएको भन्दै त्यसमा छानबिन हुनुपर्ने मागसमेत गर्दै आएका थिए ।
थापाले मंगलबार विज्ञप्ति जारी थापाले ‘अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टी छाड्नुपरेको’ उल्लेख गरेका छन् । थापाले घोषणाले सो पार्टीको औपचारिक विभाजन चाँडै हुने देखिएको छ । पूर्वपञ्च पृष्ठभूमिका व्यक्ति मिलेर बनेको राप्रपामा विभाजन भने नौलो कुरा होइन । दलविहीन पञ्चायती व्यवस्थामा दुई ध्रुवमा विभाजित राप्रपा २०४७ मा स्थापनाको समयदेखि नै दुई पार्टीबाट भएको थियो ।
आमनिर्वाचनमा पराजित भएपछि जुट्ने र महाधिवेशनमा पछि फुट्ने गरेको राप्रपाको इतिहास छ । पञ्चायती व्यवस्था अन्त्यसँगै पूर्वपञ्चलाई संगठित गर्ने राजदरबारले कोसिस गरेको थियो । पूर्वपञ्चहरूको एउटा शक्तिशाली पार्टी स्थापना गर्न पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई दरबारले अघि सारेको थियो । त्यसमा पूर्वप्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई उपाध्यक्ष राख्न खोजेको थियो । पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका नेतालाई पदाधिकारीमा समेट्ने योजना थियो । तर पूर्वपञ्चहरूको दुई फरक दल गठन भए ।
बौद्धस्थित छिरिङ तेन्जिङ शेर्पाको घरमा सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र पशुपतिशमशेर राणाको घरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जन्म भयो । २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि दुवै राप्रपाबीच एकीकरण भयो । २०५० सालमा काठमाडौंमा एकता महाधिवेशन भयो । पार्टी अध्यक्ष थापा बने, पहिलो मर्यादामा चन्दलाई राखियो । सहअध्यक्ष राजेश्वर देवकोटालाई बनाइयो । २०५१ मा भएको मध्यावधि निर्वाचनमा राप्रपाले २० स्थान जित्यो । तर संसदीय दलको चुनावमा पहिलेदेखि रहेको मनोमालिन्य फेरि प्रकट भयो । डा.यादवप्रसाद पन्तको घरमा भएको संसदीय दल बैठकमा गोप्य मतदानबाट चन्दलाई संसदीय दलको नेता चुनियो । चन्द १० मतका साथ विजयी भए । त्रिशंकु संसद्का कारण सत्ताको साँचो राप्रपाको हातमा थियो ।
एमालेको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि राप्रपाको साथ लिएर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो ।
राप्रपाभित्र देखिएको विवाद राष्ट्रिय सभा चुनावमा देखियो । थापा पक्षले देवकोटालाई मत दिएन । चन्दले एमालेसँग मिलेर देवकोटालाई राष्ट्रिय सभामा पु¥याए । त्यसपछि चन्दले हरियो झन्डा देखाएपछि एमालेले देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्यायो तर सफल हुन सकेन । विश्वासको मत लिने क्रममा कांग्रेसबाट देउवामाथि अन्तरघात भयो र सरकार ढल्यो । त्यसपछि एमालेलाई साथ लिएर चन्दले सरकार बनाए । राप्रपाको थापा पक्ष र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि चन्द नेतृत्वको सरकार ढल्यो । त्यसपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा नेतृत्वमा सरकार गठन भयो । २०५४ सालमा तत्कालीन प्रधानमन्त्री थापाले संसद् विघटनका लागि दरबारमा सिफारिस गरे । त्यस समयमा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरे । २०५६ सालको आम चुनावमा राप्रपाले ११ स्थान जित्यो तर राप्रपा (चन्द) ले खाता खोल्न सकेन । चन्द राप्रपामा फर्किए, देवकोटा राप्रपा (चन्द) मै रहे ।
२०५९ सालमा वीरगन्जमा भएको राप्रपा महाधिवेशनबाट पशुपतिशमशेर राणा अध्यक्षमा निर्वाचित भए । राजाको शासनकालमा सो दलभित्र विवाद देखियो । थापा प्रधानमन्त्री भएका बेला राणा र चन्दले महँगीसहितका विषयमा सडक आन्दोलन गरे र पार्टीभित्र चर्को विवाद निम्तियो । २०६० सालमा थापासहितका सरकारमा रहेकाहरूले राप्रपा छाडे । २०६१ मा थापा र प्रकाशचन्द्र लोहनीसहितका नेताले राष्ट्रिय जनशक्ति पार्टी (राजपा) खोले । राजाको माघ १९ को शाही कदमपछि कमल थापा गृहमन्त्री भए । राजा ज्ञानेन्द्रका कदमको विषयमा राप्रपाभित्र विवाद देखियो । थापाले राणालाई अध्यक्षबाट हटाए तर अदालतले राणालाई पुनर्स्थापित गरिदियो । कमल थापाले राप्रपा नेपाल खोले । राजाको प्रत्यक्ष शासनकालमा भएको स्थानीय चुनाव राप्रपाले बहिस्कार ग¥यो तर राप्रपा नेपाल सहभागी भयो । देवकोटा राप्रपा नेपालमा फर्किए ।
२०६२र०६३ मा लोकतन्त्र स्थापना भएपछि उनी राप्रपामा गए । राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका विपक्षमा एजेन्डा अघि सा¥यो । पहिलो संविधानसभा चुनावमा राप्रपा नेपाल, राप्रपा र राजपाले छुट्टाछुट्टै चुनाव लडे । राजपा र राप्रपाले संघीयता र गणतन्त्रको लाइन लिए पनि राप्रपा नेपाल स्थानीय स्वायत्त शासनसहित हिन्दु अधिराज्यकै पक्षमा रह्यो ।
२०६९ मा राजपा र राप्रपाबीच एकीकरण भयो । २०७० मा भएको महाधिवेशनमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच चक्रीय प्रणालीमा नेतृत्व गर्ने सहमति भयो । त्यसबाट असन्तुष्ट देवकोटा बाहिरिए । २०७० मा राप्रपाले प्रत्यक्षमा तीन र समानुपातिकतर्फ १० स्थान जित्यो । राप्रपा नेपालले प्रत्यक्षतर्फ एक स्थान नजिते पनि समानुपातिकतर्फ २५ स्थान जित्दै आफूलाई दोस्रो संविधानसभामा चौथो राजनीतिक दलको रूपमा उभ्यायो । राप्रपाभित्र चक्रीय प्रणालीमा नेतृत्व गर्ने विषयले ठूलो विवादको रूप लियो । पार्टी अध्यक्षबाट राजीनामा दिए पनि थापाले राणालाई अध्यक्ष बनाउन सहयोग गरे । चन्दले आफू अध्यक्ष रहेको दाबी गरेपछि लामो कानुनी झमेला सुरु भयो । राप्रपा नेपालमा पनि समानुपातिक सभासद छान्ने विषयमा विवाद भयो । यो विषयमा विवाद बढ्दै गएपछि केशरबहादुर विष्टलगायतले दल छाडे । पद्मसुन्दर लावतीसहितका नेता असन्तुष्ट थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी राप्रपाका तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापा राणाको साथ छाडेर चन्दतर्फ लागे । त्यसपछि सो दलभित्र नयाँ ढंगले अघि बढ्ने सहमति भयो । त्योसँगै राप्रपा नेपालसँग एकीकरणको विषय पनि अघि बढ्यो । दुवैतर्फ वार्ता समिति बने । एकीकृत दललाई हिन्दु राष्ट्रवादी दल बनाउने गरी दुवै दलबीच सैद्धान्तिक सहमति भयो । महाधिवेशनसम्म राष्ट्रिय अध्यक्षमा पशुतिशमशेर राणा र पार्टी अध्यक्ष कमल थापालाई बनाउने सहमति भयो ।
राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको पक्षमा मतदान ग¥यो भने राप्रपा नेपालले विपक्षमा मतदान गरेको थियो । यसबीच अन्तिम समयमा राणाले दुवै अध्यक्षको कार्यक्षेत्र र अधिकारका विषय प्रस्ट नभएको भन्दै एकीकरणलाई टारिदिए । राप्रपा सरकारमा सहभागी भयो भने राप्रपा नेपाल विपक्षमा बस्यो । तर, २०७३ मंसिर ६ गते दुवै दलबीच एकीकरणको घोषणा भयो । फागुनको पहिलो साता राजधानीमा एकता महाधिवेशन भयो । एकीकरण हुँदा राप्रपा नेपालको ‘गाई’ लाई पार्टीको झन्डा र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको थियो ।
महाधिवेशनले राप्रपा अध्यक्षमा कमल थापालाई निर्वाचित मात्रै गरेन, गाईलाई चुनाव चिह्न बनाउने निर्णयसमेत ग¥यो । यस विषयमा राणानजिकका राप्रपा नेताहरू असन्तुष्ट थिए । महाधिवशेनलगत्तै वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले अध्यक्ष थापाको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी छाडे । विपक्षमा मतदान गरेको दाहाल नेतृत्वको सरकारमा अध्यक्ष थापा स्वयं सहभागी भए ।
पहिलो चरणको स्थानीय चुनावको मुखमा पार्टी सरकारबाट बाहिरियो । राप्रपाले पनि सर्मनाक पराजय बेहो¥यो । पार्टीभित्रको विवाद फेरि सतहमा देखियो । वरिष्ठ नेता राणाले विज्ञप्ति निकालेर अध्यक्ष थापाको आलोचना गरे । राणा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर जम्मा गरेर पार्टी फुटाउने अभियानमा लागेको थाहा पाएपछि अध्यक्ष थापाले केन्द्रीय समिति विस्तार गरेर निर्वाचन आयोगलाई जानकारी गराए । त्यस समयमा राप्रपाको विभाजन ट¥यो तर यो स्थितिले लामो समयसम्म निरन्तरता पाएन । केन्द्रीय सदस्य तथा सांसदको आवश्यक संख्या पु¥याएको भन्दै राणाले २०७४ सालमा राप्रपा ९प्रजातान्त्रिक० दर्ता गरेका थिए ।
२०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भयो । २०७६ मा राप्रपा थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले एकताको घोषणा गरेका थिए । त्यो एकतामा गत महाधिवेशनमा राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै दरार उत्पन्न भयो । थापाले महाधिवेशनको परिणाम स्विकारेनन् ।
अघिल्लो दिनसम्म संवादमै थिए
अघिल्लो दिनसम्म शीर्ष नेताहरूसँग संवादमै रहेका थापाले हेटौंडा पुगेर अचानक पार्टी परित्याग गरेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार गत शनिबार थापा र अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको थियो । ‘शनिबारको भेटपछि अध्यक्षले लोकेन्द्रबहादुर चन्दसहितका वरिष्ठ नेतासँग थापाको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘सोमबार पनि गणेश थापासँग मागको विषयमा छलफल र सहमति भएको थियो । मंगलबार एक्कासि पार्टी छाडेको घोषणा गर्नुभयो, यो आश्चर्यजनक छ । उहाँलाई एक्लै हिँड्नुपर्ने के बाध्यता आइलाग्यो ?’
मंगलबार बिहान चन्दलाई भेट्न पुगेका लिङ्देनले समस्या समाधानका लागि समिति गठन गर्ने र त्यसको नेतृत्व लिइदिन आग्रह गरेका थिए । थापाले पार्टी छाड्ने निर्णय गरेपछि बसेको पदाधिकारी बैठकले निर्णयमा पुनर्विचार गर्न आग्रहसमेत गरेको थियो । ‘ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्याशीत रुपमा व्यक्तिगत तबरले अलग हुने भनिएको घोषणाप्रति दुःख व्यक्त गर्दछौं,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’
यसअघि थापासँग विभिन्न चरणमा छलफल भइरहेको उनी निकट पूर्वकोषाध्यक्ष उद्धव पौडेलले बताए । ‘हिजो पनि छलफल भएको थियो । मसँग कुरा हुँदा अध्यक्षबाट आफ्नो माग पुरा गर्नेभन्दा पनि टालटुले प्रस्ताव आएकाले त्यसलाई स्वीकार गरेर बस्न नसक्ने बताउनुभएको थियो,’ उनले भने, ‘अध्यक्ष लिङ्देनले सबै माग पूरा गरे पनि निर्मल निवासको भूमिकाबारे छानबिन हुनुपर्ने माग पूरा गर्न नसक्ने बताउनुभएको थियो ।’ महाधिवेशनपछि देखिएको समस्या समाधान गर्न पौडेल थापा र लिङ्देन दुवैसँग संवादमा रहेका थिए ।
हेटौंडा जानुअघि थापाले सोमबार चन्दलाई उनकै निवास लोकन्थलीमा भेट गरेका थिए । सोमबारै थापाले राजधानीको सुकेधारामा केन्द्रीय सदस्यहरूको भेला बोलाएका थिए । त्यहाँ उनले आफ्नो माग पूरा गर्न अध्यक्षले चासो नदेखाएको भन्दै निरीह भएर नबस्ने बताएका थिए । स्थानीय चुनावको मिति घोषणाअघि नै पार्टीले यस विषयमा ठोस निर्णय लिनुपर्ने उनको धारणा थियो । त्यसअघि पनि थापाले अध्यक्ष लिङ्देनलाई दुई पटक पत्र लेख्दै छानबिनको माग गरेका थिए । मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा थापाले पूर्वराजाले आफूलाई पिठ्युँमा छुरा हान्ने काम गरेको आरोप लगाए । ‘राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण उम्मेदवारी दिएको थिएँ,’ उनले भने, ‘उहाँले रेस्ट गर भन्नुभएको भए म उठ्दैनथें । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’ -आजको कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस्