काठमाडौं- हवाई टिकट र पेश्की फर्स्यौटमा अनियमितता गरेको ठहर गर्दै छानबिन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का वित्तिय निर्देशक निरन्जन शाहलाई तत्काल पदबाट निलम्बन गरी कानूनी कारबाही गर्न सिफारिस गरेको छ । समितिले शाहको कर्तुतमा साथ दिएको भन्दै महासचिव इन्द्रमान तुलाधर र अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि कारबाही गर्नुपर्ने राय दिएको छ ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का संयोजकत्वको एक सदस्यीय समितिले अध्यक्ष शेर्पालाई बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘निरन्जन शाहले हवाई टिकट खरिदमा आर्थिक अनियमितता गरी संघको पेश्की फर्स्यौटको ३५ हजार नगद आफूले बुझिलिई एन्फाको बैंक खातामा दाखिला नगरी उक्त रकम बराबरको नक्कली बिल प्रस्तुत गरी आर्थिक हिनामिना गरेको देखिएकोले निजलाई तत्काल पदबाट निलम्बन गरी कानून बमोजिम कार्बाही अगाडि बढाई असुल उपर गर्न सिफारिस गरियो ।’ आरोपी शाहसहित तुलाधर र शेर्पाले छानबिनको क्रममा बयान नदिए पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।
शाहको कर्तुतमा महासचिव तुलाधरको संलग्नता रहेको ठहर गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘पेश्की फर्स्यौटमा पेश भएको गलत तथा नक्कली बिल भर्पाईसमेतलाई आधार मानी निज शाहसँग मिलेमतो गरी आर्थिक अनियमिततामा संलग्न देखिएको र संघको हवाई टिकट खरिदमा भएको अनियमिततामा महासचिव तुलाधरले विगत १ वर्षदेखि कुनै कारबाही नगरी बेवास्ता गरी कार्यालय प्रमुख रहेका व्यक्तिले छानबिन समितिसमक्ष बयानसमेत दिन नआएकोले निजले पदीय जिम्मेवारी पूरा नगरेको देखिदा निज तुलाधरले नैतिक, पदीय तथा कानूनी जिम्मेवारी पूरा नगरी संघको आर्थिक हिनामिनालाई प्रश्रय दिएको देखिदा निजलाई आवश्यक कानूनी कारबाही अगाडि बढाउन सिफारिस गरियो ।’
रकम मेटाएर बढाइएको हवाई टिकट काण्ड र पेश्की फर्स्योटको लागि बुझाइएको नगद हिनामिना गरी नक्कली बिल हालेका शाहका कर्तुतमाथि गरिएको अध्ययनमा शेर्पा समितिप्रति जवाफदेही नभएको जनाइएको छ । शेर्पाविरुद्ध आफ्नै संघको पेश्की फर्स्यौटमा एन्फा आफैले गठन गरेको समितिलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको, समितिसमक्ष बयान नदिएको, नक्कली बिललाई सद्धे र सक्कली मानी पेश्की फर्स्योट गर्न अन्तिम निकासा दिएको, हवाई टिकट अनियमिततासम्बन्धमा १ वर्षअघि वीचयोद्धा डेस्टिनेसन प्रालिको निवेदन र त्यससम्बन्धमा कर्मचारीलाई कुनै किसिमको निर्णय, निर्देशन, आदेश नदिएर विवादको निरुपण नगरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले शेर्पालाई पनि कारबाही गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको छ, ‘पेश्की फर्स्योटमा नक्कली बिल भर्पाई प्रमाणित गरी अन्तिम निकासा दिई संघलाई आर्थिक क्षति पुर्याउने कार्यमा सदर गरेको देखिदा सो कार्यमा निज शेर्पासमेतको संलग्नता देखिएकोले निजले एन्फाको समग्र नेतृत्व लिई नैतिक एवम् कानूनी रुपमा पेश्की फर्स्यौट र हवाई टिकट खरिदमा भएको अनियमितता पूर्ण रुपमा बेवास्ता गरी संघको गरिमामाथि आँच आउने कार्यमा संलग्न रहेको हुँदा एन्फा शेर्पा नैतिक र कानूनी हिसाबमा जवाफदेही नभएकोले निजसमेत सजायको भागिदार रहेको देखिदा सोही बमोजिम गर्न सिफारिस गरियो ।’ वरिष्ठ लेखा अधिकृत संजीव पाण्डेलाई सचेत गराइएको छ ।


विश्व खबर 


















