images
images
  • काँकडभिट्टा नाकाबाट विस्फोटक पदार्थ भित्र्याउने प्रयास, सशस्त्रद्वारा बरामद

    काठमाडौं- मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट विस्फोटक पदार्थ नेपाल ल्याउने प्रयास भइरहेको खुलेको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा बोर्डर आउट पोष्ट (बीओपी) ले कमर्सियल डेटोरनेटर ८० वटा र नेपोलाइट (हाइ एक्स्प्लोसिभ) ९१ वटा लोला बरामद गरेसँगै यो नाकाबाट विस्फोटक पदार्थ ल्याउने प्रयास भइरहेको खुलेको हो ।

    सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टर झापाका प्रमुख एसपी प्रदीप कार्कीका अनुसार शंकास्पद वस्तु सहितको झोला नदी छेउमा राखिएको सूचना आएलगत्तै बोर्डर आउट पोष्ट (बीओपी) काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम चाम्लिङको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

    टोलीले विस्फोटक पदार्थ बरामद गरेको कार्कीले अनलाइनखबरलाई बताए । विस्फोटक पदार्थलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, झापा बुझाइएको उनको भनाइ छ ।

    एक हजार दिएर कटाउने प्रयास
    मंगलबार बिहान पौने ९ बजेतिर काँकडभिट्टाको गैरीगाउँमा २२ वर्षका जस्ता देखिने मगर थरका एक युवक झोला बोकेर आएका थिए ।

    भारतबाट आएका उनले एक जना स्थानीयलाई खैरो रंगको आफ्नो झोला मेचीनगरको होटल कृष्णमा पुर्‍याइदिन आग्रह गरे । त्यसवापत एक हजार रुपैयाँ दिने आश्वसन दिए । त्यति भनेपछि ती युवक त्यहाँबाट हराए, सिटी रिक्सा चालक समेत रहेका ती स्थानीय उनले भनेअनुसार सुकेको घाँसले छोपेको ठाउँमा झोला लिन गए । झोला बोक्दा निकै हलुंगो थियो ।

    ‘सिटी रिक्साको ब्याट्री गह्रुँगो हुन्छ, त्यो त एकदम हलुका थियो, बोक्ने वित्तिकै मलाई ढाँट्यो भन्ने भयो’ उनले बयान दिएका छन्, ‘अरुवेला त त्यसरी झोला खोलिन्न तर अस्ति चाहिं के भयो अलिकति हेरेँ, त्यहाँ तारहरु र लोला जस्ता सामान थिए ।’

    उनलाई समान पुर्‍याउन लगाउने युवक काँकडभिट्टा क्षेत्रमा यसअघि कहिल्यै देखिएका थिएनन् । झट्ट हेर्दा पश्चिमतिरका जस्ता देखिन्थे । ‘कतै म फस्दिन भन्ने लाग्यो, त्यसपछि सशस्त्र प्रहरीलाई जानकारी गराएँ’ उनले भनेका छन् ।

    त्यसपछि बीओपी काँकडभिट्टाबाट इन्स्पेक्टर चाम्लिङ नेतृत्वको टोली घटनास्थल पुग्दा उनले भनेको ठाउँमा त्यो झोला थिएन । अधिकृतहरुका अनुसार चालकले भनेको वरिपरिको स्थानमा खोजी गर्दा एक ठाउँमा ‘आलो खोस्रिएको’ जस्तो खाल्डो थियो, त्यहीँ खन्दा खैरो रंगको झोला बरामद भएको अधिकृतहरुको भनाइ छ ।

    कसले ल्याएको थियो विस्फोटक पदार्थ ?
    जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतका अनुसार विस्फोटक पदार्थसँगै बरामद भएको स्थानमा केही भिजिटिङ कार्ड र बसका टिकट भेटिएका छन् । टिकटअनुसार उनी १२ माघमा बस चढेर सिलगुढीसम्म आएको देखिएको छ । पंकज बस सर्भिसको गाडीबाट उनी सिलगुढी आएको खुलेको छ ।

    उनको झोलामा पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिको गाडीको टिकट समेत बरामद भएकाले उनी पश्चिमबाट आएको हुनसक्ने आशंका गरिएको छ ।

    अधिकृतहरुका अनुसार दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरुबाट पक्राउ पर्न सकिने डरले उनले स्थानीयलाई झोला कटाउने जिम्मेवारी दिएको हुनसक्छ । ‘सीमामा अहिले सुरक्षा निकायहरुको बाक्लो उपस्थिति छ, स्थानीयले ल्याउँदा शंका नहुने भएकाले सिटी रिक्सा सञ्चालकलाई प्रयोग गरिएको हुनसक्छ’ उनी भन्छन् ।

    हालसम्म विस्फोटक पदार्थ ल्याउने व्यक्ति को थिए भन्ने चाहिँ खुलेको छैन । विप्लव समूह शान्ति प्रक्रियामा आएयता मुलुकमा शंकास्पद वस्तु वा विस्फोटक पदार्थ भेटिएको खासै सुनिएको थिएन ।

    तर माघको ९ र १३ गते झापाको विर्तामोड र दमकमा स्थानीयलाई त्रसित बनाउने शंकास्पद वस्तु भेटिएको थियो । समयमै सूचना पाएपछि नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गर्‍यो ।

    ‘प्रेसर कुकरमा स्थानीयलाई त्रसित बनाउने गरी तारहरु जोडेर राखिएको थियो, विस्फोटक पदार्थ थिएन’ नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापा भन्छन् ।

    तर जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार शंकास्पद वस्तु भेटिएका दुवै स्थानमा हिमाल सुरक्षा परिषद्को नाममा पर्चा भेटिएको थियो । पर्चामा नेपालमा हिन्दू राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका विषय लेखिएका थिए ।

    हालसम्म कहिल्यै नसुनिएको परिषद्ले आफ्नो उपस्थिति देखाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अधिकृतहरुको अनुमान छ । तर मंगलबार बरामद भएको विस्फोटक पदार्थ र झापामा भेटिएका शंकास्पद वस्तुबीच सम्बन्ध छरछैन भन्ने चाहिं विस्तृत अनुसन्धानपछि नै खुल्नेछ ।

    हालसम्म प्रहरीले शंकास्पद वस्तु राख्ने हिमाल सुरक्षा परिषद्का कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।  –झापाबाट मनिषा चम्लागाईंको सहयोगमा (अनलाइन खबरबाट )

    प्रतिक्रिया दिनुहोस्

    images
    images