काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । बुधबार राजधानीमा अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले गठबन्धनबारे मिडियामा आएका कुरामा कुनै सत्यता नरहेको दाबी पनि गरे ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफूले भेट गरेको र मनगणन्ते कुरा बाहिर आएको निष्कर्षमा पुगेको उनले बताए ।
“दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस्,” अध्यक्ष नेपालले भने, “यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन । अहिले भर्खरै मात्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाजी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डजी’ र म आफैँ बसेर छलफल गर्यौँ । पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भन्नेबारे छलफल चलायौँ, तर मनगणन्ते कुरा धेरै आएका रहेछन् ।”
आफूहरूले गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । गठबन्धन निर्वाचनपछिसम्म कायम रहने उनको भनाइ छ । एमसीसीका कारण गठबन्धन टुट्न सक्ने भन्ने समाचारका विषयमा नेपालले यस्तो बताएका हुन् ।


विश्व खबर 



















