दक्षिण कोरिया फिफा विश्वकप फुटबलमा एसियाबाट छनोट हुने दोस्रो टोली भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २(० ले हराउँदै दक्षिण कोरियाले यसै वर्ष हुने विश्वकपका लागि स्थान पक्का गरेको हो ।
दक्षिण कोरियालाई जिताउन किम जिन सु र क्वोन चाङ होनले एक(एक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २(० को जित दिलाए । यो जितसँगै दक्षिण कोरियाले तेस्रो चरणको छनोटमा समूह ए मा २० अंक जोड्दै दोस्रो स्थानमा रहेर २ खेल अगाडिनै विश्वकपमा पुगेको हो । यो समूहबाट यसअघिनै इरान विश्वकपमा पुगिसकेको छ।
यो सँगै एसियाली मुलुक दक्षिण कोरिया लगातार १० सहित समग्रमा ११ औं पटक विश्वकपमा छनोट भएको हो । सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेको थियो ।


विश्व खबर 



















