काठमाडौं-काठमाडौं उपत्यकामा जग्गाको मूल्य यसरी आकासिएको छ कि, अहिले चक्रपथबाट ५ किलोमिटर भित्र जाँदा मुस्किलले प्रतिआना १० लाख रुपैयाँ घटिमा जग्गा किन्न पाइएला। त्यो पनि १२-१३ फिटे बाटोमा भए मात्रै। तर सामाजिक सञ्जालमा भने प्रतिआना ३ लाख, ४ लाख र ५ लाख रुपैयाँ सम्ममा जग्गा विक्रीमा भन्दै छ्याप-छ्याप्ती विज्ञापन गरेको पाइन्छ। तिनै विज्ञापन हेरेर मध्यम आय भएका व्यापारीदेखि जागिरेसम्मका मानिसहरु ५-७ लाख रुपैयाँ आनाले पाए ३-४ आना जग्गा किन्न भन्दै दौडिहाल्छन्। जग्गा किनेको केही वर्षमै मूल्य बढेर दोब्बर हुने आशमा जग्गा किन्नेहरु कतिपय अवस्थामा भने सस्तो जग्गा पाइयो भनेर जीन्दगीभर मेहनेत गरेर कमाएको पैसा नै फसाएका उदाहरण पनि धेरै छन्।
सस्तो जग्गा किन्न खोज्दा मुद्दा मामिला लागेका, फिल्डमा बाटो देखाएपनि नक्शामा बाटोनै नभएका, हाइटेन्शन प्रशारण लाइन मुनिका, बाटो भएको ठाउँको जग्गा देखाएर खोला किनारको जग्गा भिडाएका लगायत यस्ता सयौं उदाहरण हामिसँग छन्।कतिपय अवस्थामा जग्गा किन्नेहरुलाई ठग्ने भन्दापनि सामाजिक सञ्जालमा लाईक, सेयर, कमेन्ट र भ्यूज बढाउन मात्रै पनि यस्ता सूचना राखेको पाइन्छ।
के काठमाडौंमा आनाको ३ लाख जग्गा पाउने कुरा सत्य हो ?
हो, उपत्यका भित्र प्रतिआना ३ देखि ५ लाख रुपैयाँका दरले जग्गा पाउने कुरा सत्य नै हो। यसरी गरिएका सबै विज्ञापन झुठा होइनन्। तर प्रतिआना ५ लाख रुपैयाँका दरले पाउने जग्गा किन्न भने चक्रपथबाट १२-१३ किलोमिटर नै टाढा जानुपर्ने हुनसक्छ। कि भने उपत्यका ढाक्ने भीर पाखा भएको जग्गा रोपनीका रोपनी नै उठाउनु पर्ने हुन्छ। त्यो बाहेक कसैले चक्रपथबाट ४-५ किलोमिटरको दुरीमा प्रतिआना ५ लाख रुपैयाँले जग्गा दिन्छु भन्यो भने त्याहाँ तपाईं ठगिने सम्भावना धेरै हुन्छ।
अहिले ललितपुरमा गोदावरीको डाँडान्दा पर लेलेसम्म जानुभयो भने प्रतिआना ३ देखि ५ लाख रुपैयाँका दरमा जग्गा किन्न पाइन्छ। तर त्यो जग्गा प्लटिङ गरिएको, ढलरपानीको पाइप राखेको, बिजुलीको पोल गाडेको जग्गा भने हुँदैन। बाटोले छोएको जग्गा हुन्छ। अलि धेरै जग्गा किनेर थप बाटो निकाल्ने र घडेरी बनाउने गरि योजना बनाउनु भयो भने त्यो सफल हुन सक्छ। त्यस्तै भक्तपुरका तल्लो क्षेत्र गुण्डू, पाइलट बाबा, उत्तरी क्षेत्रमा नगरकोट, चाँगुनारायण, काठमाडौंको उत्तरपूर्वी क्षेत्र सुन्दरीजल, जर्सिङपौवालगायतका ठाउँमा पनि प्रतिआना ५ लाख रुपैयाँ हाराहारीमा जग्गा पाउन सकिन्छ। तर त्यहाँ पनि पुग्नुपर्ने भने पहाडको फेदमै हो।तर अर्को कुरा के बिर्सनु भएन भने ५ लाख रुपैयाँ आनाले जग्गा पाउने ठाउँमा घर बनाएर बस्दा त्याहाँबाट चक्रपथ भित्र रहेको सबै अफिसमा काम गर्न सकिदैन।
सात दोबाटोमा अफिस छ भने तपाई लेलेबाट आएर काम गर्न सक्नु हुन्छ। तर लेलेबाट आएर महाराजगञ्ज वा चाबहिलको कार्यालय भेटाउन भने मुस्किलै पर्छ। त्यस्तै जर्सिङपौवाबाट आएर चाबहिल गौशाला क्षेत्रको कार्यालय त भेटाउन सकिएला। तर कलंकीर कालीमाटीका कार्यालय भेटाउन पनि मुस्किलै पर्छ।होइन म घर बनाएर बस्दिन, अहिले भएको पैसा लगानी गर्छु र भविष्यमा राम्रो मूल्य पाउँदा बेच्छु भन्ने सोच हो भने तपाईका लागि ती ठाउँ उपयुक्त हुन सक्छन्। तर त्यसका लागि पनि ४ आना होइन ४ रोपनीनै जग्गा किन्नु पर्ने हुन्छ। त्यसकारण ४ आना जग्गा किन्न चाहनेले प्रतिआना ५ लाख रुपैयाँमा जग्गा विक्रीमा छ भन्ने विज्ञापन देख्दैमा दौडिएरै जानुपर्ने अवस्था भने छैन।

कसरि छुट्याउने सहि र गलत सूचना ?
सामाजिक सञ्जालमा आएका सबैकुरा सहि हुँदैनन्। के सहि र के गलत भनेर छुट्ट्याउन पहिला त आफैले धेरै अध्ययन गर्न आवश्यक छ।जस्तो घरजग्गाको मूल्य तीव्र रुपमा बढ्नको लागि त्याहाँ विकास निर्माणका गतिविधिहरु हुनुपर्छ। वा भीआईपी मानिसहरुको बसोबास हुनुपर्छ। होइन भने जग्गाको मूल्य त बढ्छ तर वार्षिक ५-१० प्रतिशत मात्रै।
कुनै पनि विकास निर्माणका आयोजना नभएको र भीआइपी वस्ती पनि नभएको ठाउँ छ भने उक्त ठाउँमा सस्तो मूल्यका जग्गा पाउने सम्भावना धेरै हुन्छ। अव शहरी वस्ती बाक्लो भइसकेको चक्रपथ आसपासका ठाउँमा आजको मितिमा कसैले तपाईलाई १० लाख रुपैयाँ आनाको जग्गा दिलाउँछु भन्यो भने पत्याएर बैना दिए तपाईं फस्न सक्नुहुन्छ।
पछि मुद्दा मामिला गरेर, प्रहरी प्रशासन गुहारेर पैसा फिर्ता लिनु पर्यो भने त्यो तपाईंकै कमजोरी हो। किनभने अहिलेको बजार मूल्य अनुसार तपाईंले चक्रपथ आसपासमा सस्तोमा पनि प्रतिआना ३० देखि ४० लाख रुपैयाँ घटिमा जग्गा पाउनुहुन्न। अलि चौडा बाटो भएको ठाउँमा त प्रतिआना ५० लाख रुपैयाँमा पनि किनबेच भइसकेका छन्।
यो क्षेत्रमा कसैले १० लाख रुपैयाँ आनाको जग्गा छ भन्यो भने तपाईंले विश्वा गरिहाल्नु भएन। जग्गा हेर्नै बोलाए छन् भने पनि उनीहरुसँग ब्ल्यू प्रिन्ट नक्शा मागेर हेर्नुस, छरछिमेका मानिसहरुसँग कुरा बुझ्नुस र अझै शंका लागेमा कित्ता नम्बर लिएर मालपोत कार्यालयमै गएर पनि जग्गा सहि होरहोइन, बाटो छरछैन, मुद्दा मामिला लागेको छरछैन लगायतका कुरा बुझेर मात्रै आर्थिक कारोबार गर्नुस।
बाटोको चौडाई अनुसार कुन ठाउँमा बढी छ जग्गाको मूल्य ?
अहिले उपत्यका भित्रका जग्गाको मूल्य निर्धारण गर्ने पहिलो मापदण्डनै बाटोको चौडाई बनेको छ। किनभने फराकिलो बाटो भएमा तपाई चक्रपथबाट ५-७ किलोमिटर टाढा बसेपनि चक्रपथ भित्रका कार्यालयमा सजिलै आउजाउ गर्न सक्नुहुन्छ।
यदि २५-३० फिटको मध्यम खालको बाटो मात्रै पुगेको ठाउँ छ भने त्याहाँ ५र७ किलोमिटर टाढा जाँदा ५र७ लाख रुपैयाँ आनाको जग्गा किन्न पनि पाइएला। जस्तो सितापाइला-भीमढुङ्गा, बालाजु-गोलढुङ्गा, धुम्बारही-मण्डिखाटार, सुकेधारा-बालुवाखानी लगायतका बाटोहरु केही साघुरो भएकोले यी ठाउँमा चक्रपथबाट ५-७ किलोमिटर टाढा जाँदा कुनै-कुनै ठाउँमा १२-१३ फिटका सहायक बाटोमा ५-७ लाख देखि १० लाख रुपैयाँ आनाका जग्गा पाउँनपनि सकिन्छ।
तर चाबहिल-शाँखु, कोटेश्वर-भक्तपुर, इमाडोल-लामाटार, सातदोबाटो-गोदावरी, एकान्तकुना-भैसेपाटी, बल्खु-फर्पिङ, कलंकी-थानकोट, सामाखुशी-टोखा, महाराजगञ्ज-बुढानिलकण्ठ लगायतका ठाउँमा भने चौडा बाटो रहेका कारण ५-७ किलोमिटर भित्र प्रतिआना १० लाख रुपैयाँ घटिमा जग्गा पाउने सम्भावना निकै कम छ। तर यी बाटोका सहायक बाटाहारु जुन १२-१३ फिटका मात्रै छन् त्याहाँ भने १०-१२ लाख रुपैयाँ आनाले जग्गा पाउन पनि सकिन्छ।
यो पनि हेनुहोस्: काठमाडौं उपत्यकामा आनाको ५ लाखमै जग्गा !


विश्व खबर 




















