images
images
  • राप्रपामा २४ पदाधिकारी मनोनित: अध्यक्ष लिङ्देनलाई कमल थापाको चेतावनी

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनित गरेका छन् ।

    अध्यक्ष लिङ्देनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्रीमा मनोनित गरेका छन् । उनले भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका छन् । यसैगरी प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह र पूर्णबहादुर चन्द सहायक प्रवक्तामा मनोनित भएका छन् । मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ भने सहमहामन्त्रीमा मनोनित भएका छन् ।

    यसैगरी रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई सहायक महामन्त्रीमा मनोनित गरिएको लिङ्देनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो मनोनयनपछि राप्रपामा पदाधिकारीको संख्या ३१ पुगेको छ ।

    यसैबीच, राप्रपाका पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै आफ्नो मागलाई बेवास्ता गरे पार्टीमा दुर्घटना निम्तने चेतावनी दिएका छन् । पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएका थापाले पार्टीमा निर्मल निवासले प्रत्यक्ष हस्तक्षेप गरेको दाबी गर्दै आएका छन् ।

    राप्रपालाई निर्मल निवासले चलाउने प्रयास स्वीकार्य नहुने भन्दै उनले यसबारे पार्टी बैठकमा औपचारिक रुपमा छलफल गर्न पनि माग गरेका छन् । उनले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘मैले मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न र त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरणपत्र पुनः पठाएको छु ।’

    आफुले पार्टी महाधिवेशनमा भएको निर्वाचन परिणामलाई चुनौती नदिएको र आगामी पाँच वर्ष लिङ्देनले नै पार्टी चलाउने पूर्वअध्यक्ष थापाले बताएका छन् । तर, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने योजना कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी उनले दिएका छन् ।

    राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्न हिचकिचाउनु नहुने धारणा पनि उनले ब्यक्त गरेका छन् । राप्रपालाई राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका जनताको स्वाभिमानी पार्टीका रुपमा कायम राख्नुपर्ने उनको धारणा छ । ‘मेरा मागहरुलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट कुनै पनि हालतमा हुने छैन भन्ने अपेक्षा गरेको छु’, अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा पूर्वअध्यक्ष थापाले भनेका छन् ।

    यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुनको पहिलो साता काठमाडौँमा बस्ने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने जानकारी महामन्त्री भुवन पाठकले दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए । गत मंसिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रोपटक कार्यसमितिको बैठक आयोजना गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images