सीएनएन- चेक रिपब्लिककी एक कोरोनाविरुद्धको खोपविरोधी गायिकाको जानीजानी कोरोनाबाट संक्रमित भई मृत्यु भएको उनको छोराले जानकारी दिएका छन् । ५७ वर्षीया हाना होर्का थाहा पाएरै घरमा बिरामी भई बसेका पति र छोरामार्फत कोरोनाभाइरससँग सम्पर्कमा आएको बताइएको छ ।
उनका छोरा जेन रेकका अनुसार हाना कोभिड-१९ को सामना गर्न आफैँ संक्रमित हुन चाहेकी थिइन् । खोप लगाउनुभन्दा बरु संक्रमित हुनुले प्राकृतिक इम्युनिटी दिएर बचाउने उनको मान्यता थियो ।
त्यसैले पनि आफूले सबैलाई सचेत गराउन यो खबर बाहिर ल्याएको छोरा रेकले बताए । उनका अनुसार उनी र उनका पिताले भने कोरोनाविरुद्धको खोप लगाएका थिए ।
उनी भन्छन्, “मेरी आमा खोप नलगाई कोभिड पास पाउनका लागि आफूलाई कोभिड होस् भन्ने चाहनुहुन्थ्यो । उहाँले सार्वजानिक रूपमै आफूलाई कोभिड भए पनि हुन्थ्यो भन्ने गर्नुहुन्थ्यो ।”
रेकका अनुसार आमा हानाले आफ्नो साथीहरूको समूहबाट कोरोनाभाइरससम्बन्धी गलत सूचना पाइरहेकी थिइन् । त्यसैले पनि उनले जानीजानी वास्तविक तथ्यहरू बेवास्ता गरिरहेकी थिइन् । र, उनलाई कोरोनाबाट बिरामी भएर हेर्नु थियो ।
प्रकृतिले नै सबै कुराको जिम्मा लिनेछ भन्ने विश्वासका कारण घरमै हुँदा समेत कोरोनाविरुद्धको खोपको एकदमै ठूलो विरोधी रहेको रेक बताउँछन् ।
संक्रमित हुनुअगाडि पनि हानाले खोप नलगाएका चर्चित व्यक्तिहरूको पोस्ट सेयर गर्ने गर्थिन । रेकका अनुसार अप्रत्यक्ष रूपमा ती मानिस नै उनकी आमाको मृत्युका लागि जिम्मेवार छन् । उनी भन्छन्, “ती मानिससँग अरूलाई प्रभाव पार्ने शक्ति हुन्छ ।”
यसरी पछिल्लो समय जानीजानी ओमिक्रोन भेरियेन्टबाट संक्रमित हुन खोज्ने ट्रेन्ड लोकप्रिय बनेको छ । तर, चिकित्सकहरूले त्यसो नगर्न बारम्बार चेतावनी दिइरहेका छन् ।
नर्थवेस्टर्न युनिभर्सिटीका डाक्टर रोबर्ट मुर्फी भन्छन्, “मानिसले ओमिक्रोन केवल चिसो लाग्नु मात्र होजसरी कुरा गरिरहेका छन् । तर, वास्तवमा यो सामान्य रुघाखोकी होइन । यो प्राणघातक रोग हो ।”


विश्व खबर 




















