काठमाडौं- संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।
आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।
धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।
यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।
बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।
यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।
बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।
बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो ।


विश्व खबर 



















