बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटअन्तर्गत बैतडीले लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा बैतडीले बझाङलाई ६ विकेटले स्तब्ध पार्दै दोस्रो जित निकालेको हो । यसअघि हिजो डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको थियो ।
खुलामञ्च मैदानमा आज बझाङले दिएको २३१ रनको लक्ष्य बैतडीले ३२।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । डम्बर बुडालले नटआउट ७३ रनको पारी खेले । यस्तै खडक बोहराले ५१ र नरेन भट्टले अविजित ३९ रन जोडे । बझाङका सञ्जय बोहरा र सत्य राज विष्टले १/१ विकेट झारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको बझाङले ३८.२ ओभरमा २३० रनमा अलआउट भयो । उसका लागि अनिल थापाले अर्धसतकीय पारी खेल्दै ७१ रन बनाए । यस्तै अभिनाश सिंहले ४३ र राजन सिंहले ३९ रन जोडे । बैतडीका लागि खडक बोहराले ४, वीरेन्द्र नाथ र जगदीश चन्दले २÷२ विकेट हात पारे । खडक म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।
प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका आठ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौँमा हुँदैछ ।


विश्व खबर 


















