images
images
  • हिमाली भेगमा बाक्लो हिमपातः जनजीवन प्रभावित

    सिमकोट- आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

    आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ ।

    हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताए । यस वर्षकै ठूलो हिमपात भएको बताएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

    सिमकोटमा दुई फिट हिउँ
    आज बिहानदेखि निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसानजस्तै देखिएका छन् ।

    निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दि । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images