काठमाडौं-राजनीतिमा जो जोखिम मोलेर लड्न तयार हुन्छ उस्को कि जीत हुन्छ कि हार । जीतबाट उसले छलाङ मार्छ र हारका बाबजुद आफ्नो अस्तित्व देखाउन सक्छ । विश्वप्रकाश शर्माले त्यही जोखिम मोले । काँग्रेसका लोकप्रीय नेता शर्माले १४औं महाधिवेशनको भोलिपल्ट बोल्ड निर्णय लिए । उनलाई प्रवक्ता बनाउने पार्टी सभापति शेरबहादुर देउवाको साथ छाडे । आश्चर्यजनक रुपमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा गए ।
चुनावी मतगणनामा प्रकाशमान सिंह सभापतिमा तेस्रो भए । उनको मत मात्र ३७१ थियो । उपसभापतिमा उनको प्यानलबाट उम्मेदवार बनेकी सुजाता कोइरालाको मत केही बढेर ६४४ पुग्यो । जितका लागि १५ सय भन्दा माथि ल्याउनुपर्ने अवस्था देखिदा मतको ट्रेन्डले विश्वप्रकाशको जितको आँकलन थोरैले मात्र गरे । तर, परिणाम उनकै पक्षमा आयो ।
विश्वप्रकाशसामू विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।
विगतमा कहिले केन्द्रीय सदस्यमा त कहिले झापा जिल्ला सभापतिको प्रतिष्पर्धामै शर्मा पराजित भएका थिए । नेविसंघका पूर्व अध्यक्ष शर्मा वजनदार बोलीका कारण लोकप्रीय थिए ।आम मानिसमा काँग्रेसलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याउन सके । युवाहरुमा काँग्रेसप्रतिको आकर्षण बढाउन योगदान पुर्याए । उनको यो भूमिकाको मतदाताले कदर गर्दै विजयी बनाए ।


विश्व खबर 



















