images
images
  • राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे

    काठमाडौं-राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

    राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

    यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् । उनले लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

    अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

    खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images