काठमाडौं-नेकपा एमालेको दशौं महाधिवेशनले आगामी कार्यकालका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान १ बजे चितवनको सौराहस्थित बन्दसत्रमा प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एकै घरबाट दुईभन्दा धेरै नेता पनि परेका छन्।
यसरी एकै घरबाट दुईभन्दा धेरै केन्द्रीय सदस्य बन्नेमा संयोगवश महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेल परिवारपनि जोडिएको छ।पोखरेल परिवारबाट उनीसहित पत्नी सुजिता शाक्य र बहिनी मेनका पोखरेल पनि एमालेको नेतृत्वमा एकसाथ पुगेका छन्।
शंकर पत्नी सुजिता शाक्य खुला महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्। शाक्य एमालेकी उपत्यका विशेष कमिटी अध्यक्ष तथा समानुपातिक संघीय सांसदसमेत हुन्। त्यस्तै महासचिवमा निर्वाचित पोखरेलकी बहिनी मेनका पनि लुम्बिनी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य बनेकी हुन्।तर उनको आफ्नै राजनीतिक विरासत छ। लामो समय प्राध्यापनमा सक्रिय उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छिन्। उनले सक्रिय राजनीति पनि गरिरहेकी छन्।
उनी पञ्चायतकालमै तत्कालीन शासकविरुद्धको आन्दोलनमा भूमिगत भएकी थिइन्। एमाले केन्द्रमा पुग्नुअघि यही पार्टीको भ्रातृसंगठन अनेरास्ववियुको केन्द्रीय सदस्य भइसकेकी थिइन्।पञ्चायत विरोधी आन्दोलनका क्रममा भूमिगत रहँदा नै पक्राउ परेर उनी २ वर्ष जेल पनि बसेकी थिइन्। एमाले राजनीतिमा सक्रिय उनी मदन भण्डारी मेमोरियल कलेजकी सञ्चालिका पनि हुन्। उता विवादित भएर पनि सधैँ ओलीको नजरमा पर्दै आएका रघुवीर महासेठ यो पटक एमाले केन्द्रीय सचिवमा प्रस्तावित छन्। यद्यपि सचिव पदमा पनि चुनाव हुने अवस्था छ।
महासेठ ओली सरकारमा मन्त्री हुँदा चर्को विवादमा मुछिएका एक पात्र हुन्। ओलीले रघुवीरकै श्रीमती जुलीकुमारी महतोलाई पनि केन्द्रीय सदस्य बनाएका छन्।
ओली सरकारमा मन्त्रीसमेत बनेकी उनलाई जनजाति महिलाबाट केन्द्रीय सदस्य बनाइएको हो। ओलीले नेकपा विभाजनका बेला आफूलाई साथ दिएका शेरबहादुर तामाङलाई यसअघि नै केन्द्रीय कार्यालय सचिव बनाएका छन्।
यस पटक सचिवमा इच्छा देखाएपनि उनले शेरबहादुरलाई खुलाबाट केन्द्रीय सदस्यमा अटाएका छन्।त्यस्तै उनकी श्रीमती उषाकला राई पनि केन्द्रीय सदस्य बनेकी छन्। उनलाई ओलीले प्रदेश १ बाट केन्द्रीय सदस्य बनाएका हुन्।
उषाकला यसअघि शेरधन राई सत्तामा रहँदा प्रदेश १ मा मन्त्री समेत भएकी थिइन्। उनी लोकल रक्सी ब्रान्डिङको कुराले चर्चामा छिन्।


विश्व खबर 



















