सौराहा-नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।
एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत हो ।
एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको न्युज कारखानालाई बताए । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’
संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।

शंकर पोखरेल भन्छन्- भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन
नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।
महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन ।’ उनले नेतृत्व चुन्न भइरहेको मतदानलाई रस्साकस्सीको प्रक्रिया नभएकोसमेत बताए ।
नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा। भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्ने/नउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा अहसमति जनाए ।
‘पहिला पदाधिकारीमा उठ्ने नाम सदस्यमा राख्ने भनेकाले मैले के छ भनेर सोधेको थिए । मलाई पदाधिकारी र सदस्य दुबै राख्न चाहे भने दुबै हुन्छ । होइन भने पदाधकारी मात्र हुन्छ भनेको थियो । मैले पदाधिकारीमा लड्ने सदस्यमा नलड्ने भनेको थिए । तर अघि मतदान गर्न जाँदा सदस्यमा मेरो नाम देखेँ । अध्यक्षमा लड्ने व्यक्ति म सदस्यमा लड्ने भन्ने कुरै आउँदैन,’ रावलले न्युज कारखानासँग भने ।
यो प्रकरण रावलले बुटवलको आठौं महाधिवेशनमा फेस गरिसकेका छन् । उनले सम्झिए, ‘बुटवल महाधिवेशनमा सदस्यताको लागि मैले उम्मेदवारी दिएको थिइन, उम्मेदवारी दिएको उपाध्यक्षमा हारे, अनि मलाई सदस्य पद जितेको भनेर सपथ लिन भनियो । मैले उम्मदेवारी हालेकै छैन मैले कसरी सपथ लिने भने । त्यसलाई विवादको विषय बनाएर भीम रावलले सपथ लिएन भनेर समस्या खडा भयो । पछि मैले बाध्य भएर सपथ लिनुपर्ने अवस्था आएको थियो ।’
बुटवल महाधिवेशनको अवस्था नआओस् भनेर आफूले पहिले नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे पनि आफ्नो नाम केन्द्रीय सदस्यमा समेत उम्मेदवारका रुपमा राखेर बेइमानी गरिएको उनको भनाइ छ ।
‘अहिले पनि मतगणनाको परीणाम नआउँदै मैले सदस्य पदमा उम्मेदवारी दिएको पनि छैन । निर्वाचन आयोगका पदाधिकारीलाई सोध्दा पनि तपाईले जे उल्लेख गर्नुहुन्छ त्यो मात्रै हुन्छ हुनाले अध्यक्ष पदमात्रै उल्लेख गरेको स्पष्ट पार्छु,’ उनले भने, ‘तर विद्युतीय मतदानमा मेरो नाम सदस्यमा पनि राखेकोमा मलाई मतदान गरे भने त सदस्य पनि हुनसक्ने भए । त्यसकारण मेरो सदस्य उम्मेदवारी छैन, होइन ।’
उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना गर्यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए । ‘अब मलाई त्यहाँ त्यतिकै सदस्य भइस् भनेर मनौ मलाई जिताइदिए भने पनि त्यो पदमा मैले सपथ लिन सक्दिनँ । महिले अहिले नै प्रष्ट पारेको छु । पछि मान्छेहरुले सथप लिएन भीम रावलले यसो गर्याे भनेर नभनुन् । नकारात्मक रुपमा न लैजाउन,’ उनले भने ।


विश्व खबर 



















