images
images
  • यस्ता छन् केपी ओलीको ‘कोर टिम’का १९ पदाधिकारी (नामवालीसहित)

    सौराहा-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो ।

    त्यसै गरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए । स्रोतका अनुसार पौडेल शंकरलाई महासचिव मान्न तयार नभएपछि ओली खेमामै समस्या खडा भएको छ । त्यस्तै नेम्वाङपनि ईश्वरलाई वरिष्ठ उपाध्यक्ष मान्न तयार भएनन् । पछि उनले सबै पदमा सहमति हुने भए आफू बाधक नबन्ने बताएका थिए । उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको थियो ।त्यस्तै, सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो । यसमा खगराज अधिकारी, किरण गुरुङ, पद्मा अर्याललगायत नेताहरूले असहमति जनाएका छन् । उनीहरूले यसमा चुनाव हुनुपर्ने भन्दै ओलीलाई दबाब दिए पनि बाहिर भने केही बोलेका छैनन् ।

    पदाधिकारीमा युवराज ज्ञवाली, भुसाल, भीम आचार्यलाई समेटिएको थिएन । ओली पक्षका एक नेताका अनुसार सुरेन्द्र पाण्डेलाई संगठन विभागको जिम्मेवारी दिने आश्वासन दिइएको थियो भने अन्य नेताहरूको हकमा केही भनिएको थिएन । ‘अहिले केही नेतालाई आश्वासन दिइएको छ तर त्यसलाई रावल, भुसाल र ओली पक्षका केही नेता नै मान्न तयार छैनन् । त्यसकारण पनि निर्वाचनको प्रक्रिया अघि बढ्ने देखिएको छ’, एक नेताले भने ।

    नेम्वाङ र शाक्यलाई पार्टीलाई अवसर प्राप्त भएमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिएको स्रोतले जनाएको छ । तर, रावलले विधिमाथि नै प्रश्न उठाएका छन्। महासचिवमा भने विष्णु पौडेल र शंकर पोखरेल दुवैजना अडानमा रहेकाले ओली सकसमा छन् । यद्यपि, उच्च स्रोतले पौडेललाई उपाध्यक्षहरूमध्येबाट अर्को महाधिवेशनमा नेतृत्वमा अगाडि बढाउने गरी पोखरेललाई नै महासचिव बनाउने पक्षमा ओली उभिएको दाबी गरेको छ । पौडेल पनि सकभर अध्यक्ष ओलीलाई नचिढ्याउने पक्षमा छन् । यद्यपि, निर्वाचन भएको खण्डमा आफू विजयी बन्ने पौडेलले निकटस्थ नेताहरूसँग दाबी गरेका छन्।

    पदाधिकारीमा सहमति जुटाउनका लागि महाधिवेशन उद्घाटनका लागि ९ मंसिरमा चितवन ओर्लिएलगत्तैबाट ओलीले कोसिस अगाडि बढाएका थिए । सौराहास्थित पार्क सफारीमा बसेका ओलीले सँगै बसेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतसँग छलफल सुरु गरेका थिए । ‘कोर टिम’मा छलफलसँगै ओलीले महाधिवेशन उद्घाटन सकिएलगत्तै शुक्रबार राति सम्पन्न केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप्नका लागि विधान संशोधन प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले सर्वसहमतिले पारित गरेको थियो । प्रस्ताव पारित भए पनि ओलीले संस्थापनभित्रकै नेताहरूबीच सहमति नजुटेका कारण शनिबार बिहानैदेखि अपराह्नसम्म होटेल पार्क सफारीमा छलफल चलाएका थिए ।

    त्यस्तै, उपमहासचिवहरूमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी तथा सचिवहरूमा योगेश भट्टराई, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विष्णु रिमाललाई बनाउने तयारी छ । त्यस्तै, भानुभक्त ढकाल, लेखराज भट्ट, यामलाल कँडेल, लालबाबु पण्डित र विन्दा पाण्डेलगायतबाट दुईजना सचिव बनाउने गरी ओलीले गृहकार्य गरेको स्रोतले जनाएको छ ।

    यस्ता छन् पदाधिकारी
    अध्यक्षः केपी शर्मा ओली

    वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

    उपाध्यक्षहरूः
    १.भीम रावल
    २.सुवास नेम्वाङ
    ३.रामबहादुर थापा बादल
    ४.सुरेन्द्र पाण्डे
    ५.अष्टलक्ष्मी

    उपमहासचिव
    १.पृथ्वी सुब्बा गुरुङ
    २.प्रदीप ज्ञवाली
    ३.टोपबहादुर रायमाझी

    महासचिवःशंकर पोखरेल

    सचिव
    १.योगेश भट्टराई
    २.गोकर्ण विष्ट
    ३.रघुवीर महासेठ
    ४.लेखराज भट्ट
    ५.रघुजी पन्त
    ५.विष्णु रिमाल
    ६.भानुभक्त ढकाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images