राजकुमार कार्की, सिन्धुली – नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं २ प्रदेससभा ‘क’ क्षेत्रीय अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । दुई पक्षबीच विवाद हुँदा सर्वसम्मत नेतृत्व चयनको कसरत असफल भएको हो ।
शुक्रबारै निर्वाचन गराउने कि शनिबार गर्ने भन्दै विवाद उत्पन्न भएपछि मतदान अधिकृतले अनिश्चितकालका लागि स्थगित गरेका हुन् । विवाद लम्बिँदै गएकाले निर्वाचनका लागि समय नभएको भन्दै स्थगित गर्नुपरेको निर्वाचन अधिकृत लिखतबहादुर खड्काले जानकारी दिए ।
अब सल्लाह गरेर निर्वाचनको मिति तोकिने उनको भनाइ छ । क्षेत्र नं १ को क र ख तथा क्षेत्र नं २ को ख मा मतदान जारी रहेको अधिकृत खड्काले जनाए । कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि चारवटा प्रदेससभा क्षेत्रमा दुइ सयको हाराहारीमा सबै पदका लागि उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । तीमध्ये केही पदमा भने सर्वसम्मत भएको छ ।
निर्वाचन परिणाम आएपछि एकैपटक घोषणा गर्ने समितिको तयारी छ । अधिवेशनले प्रदेससभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि गरी चारवटामा बढीमा एक सय ८ जना चयन गर्नेछ ।
क्षेत्र नं १ को प्रदेश (क) मा ३५२, (ख) मा ३२२ साथै २ को (क) मा ३७९ र (ख) मा ३५८ गरी एक हजार पाँच यस १२ क्षेत्रीय प्रतिनिधि प्रदेससभा क्षेत्रीय अधिवेशनको निर्वाचनमा सहभागी भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए । निर्देशिका बमोजिमभन्दा अधिवेशन खर्च भन्दै डबल दस्तुर संकलन गरेकोमा उमेद्वारहरूले गुनासो गरेका छन् । -कान्तिपुर


विश्व खबर 



















