काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
सर्वोच्चको मूल गेटबाट भित्रपट्टि वकिलहरू धर्नामा बसेका छन् । त्यसलाई छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेका हुन् । सर्वोच्चका कर्मचारीहरू पनि सोही गेटबाट भित्र प्रवेश गरेका छन् ।
प्रधानन्यायाधीश आउँदा अगाडि–पछाडि सुरक्षाकर्मीको गाडी भए पनि साइरन बजाइएको थिएन ।आन्दोलनरत कानुन व्यवसायीहरूले सर्वोच्चको मूल गेट ‘कब्जा’ गरे पनि वैकल्पिक गेटमा भने कुनै अवरोध गरिएको छैन । वकिलहरूको आन्दोलनलाई ध्यानमा राख्दै सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गएको शुक्रबार सर्वोच्चको मूल गेटबाहिर धर्नामा बसेका उनीहरू आज प्रहरीको घेरा तोड्दै मूल गेटबाट भित्र छिरेर धर्नामा बसेका हुन् ।पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको बहिर्गमनको माग गरेको हो ।


विश्व खबर 



















