images
images
  • कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद, सानेपामा अनसन रोकिएन

    काठमाडौं-नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। पछिल्लो समय विवाद बाँकि रहेको रौतहट र रसुवाको विवाद टुंगो लागेसँगै सबै जिल्लाको विवाद टुंगिएको हो।

    विवाद टुंगो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली बेवसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ। कांग्रेसको नयाँ कार्यतालिका अनुसार कार्तिक २७ बाट रोकिएका अधिबेशन प्रकृया सुरु गरेर मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ।

    केन्द्रबाट सदस्यताको विवाद टुंगो लागेपनि असन्तुष्टि भने कायमै रहेको छ। क्रियाशीलको बिषयलाई लिएर तराईका जिल्ला, काठमाडौको दक्षिणकाली नगरपालिका–२, काभ्रेको महाभारत गाँउपालिका लगाायतका स्थानमा सदस्यता विवादलाई लिएर अझैपनि असन्तुष्टि देखिएको छ।

    काठमाडौं र काभ्रेमा क्रियाशील सदस्यताकै कारण स्थानीय तहको अधिवेशन हुन सकेको छैन। क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको आरोप लगाउँदै कांग्रेसको केन्द्रीय कार्यालय सानेपमा जारी अनसन भने नरोकिने भएको छ । १११ दिनअघि सानेपामा रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ का केही नेता कार्यकर्ताहरु रिले अनसनमा छन् ।

    रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले आफूहरुको माग सम्बोधन नभएकाले अनसन नरोकिने बताए । ‘जुन क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ, यसमा हाम्रो सहमति छैन,’ उनले भने, ‘१३ औं महाधिवेशनमा सहभागी नभएका २१६ जनाको सदस्यता नविकरण गरिएको छ। यो त पार्टीको विधान विपरीत भयो । हामी विधानविपरीत भएका कदमलाई स्वीकार गर्दैनौं ।’

    उनले अनसन जारी राख्ने भन्दै आफूहरुको माग सम्बोधन नभएसम्म वडा अधिवेशन बहिस्कार गर्ने जनाए । ‘हामी अधिवेशनमा सहभागी हुँदैनौं,’ उनले भने, ‘हामी विधिपद्धती अनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा हौं ।’

    साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् । कांग्रेसले मंसिर २४–२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images