काठमाडौं-नेकपा एमालेको चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । बन्दसत्र सौराहमा हुनेछ । प्रतिनिधिलाई सौराह आसपासमै आवास र सामूहिक भोजनको व्यवस्था गरिएको छ ।
महाधिवेशनमा विद्युतीय मतदान गरिनेछ । १० मंसिरमा उद्घाटनपछि ११ गते निर्वाचन प्रक्रिया सुरु हुने र १२ गते मतपरिणाम घोषणा हुने समितिले जनाएको छ । त्यसैगरी चितवन आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने निर्णय समितिले गरेको छ । बुधबार बसेको समिति बैठकले कम्तिमा ५ लाख जनसभागिता गराउने निर्णय गरेको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
बैठकले विदेशमा रहेका भाइचारा संगठनलाई निमन्त्रणा पठाउने गर्ने निर्णयसमेत गरेको छ । विदेशी दललाई पनि आमन्त्रण गरेको छ । दक्षिण एसियाका सत्तारुढ र विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको समितिका सदस्यसमेत रहेका भट्टराईले जानकारी दिए । उनकाअनुसार भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।
व्यवस्थापन समितिको बैठकले २७ कात्तिकको प्रतिनिधि चयन सम्पन्न गर्न जोड दिएको छ । देशभरबाट १९९९ जना छनोट हुनेछन् । सबै प्रतिनिधिको सम्पूर्ण विवरण ३० कात्तिकभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।बैठकले महाधिवेशनको प्रचारमा भित्ते लेखन नगर्ने निर्णय गरेको छ । प्रचार प्रसारमा डिजिटल फर्म्याट प्रयोग गर्ने समितिको निर्णय रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
सात लाख २० हजार सदस्यबाट सात करोड २० लाख उठाइने
नेकपा एमालेले चितवनमा हुन लागेको दशौँ महाधिवेशनका लागि आफ्ना सात लाख २० हजार कार्यकर्ताबाट एक एक सय रुपैयाँ उठाउने भएको छ।तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसबारे जानकारी दिएका हुन्।
उनले १९ सय ९९ महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने महाधिवेशनको खर्च धान्न उक्त निर्णय गरिएको बताए। भट्टराईले महाधिवेशन सफल बनाउन कसैसँग चन्दा नलिने पनि बताएका छन्।
‘मूल व्यवस्थापन समितिको आजको बैठकले यो महाधिवेशन सक्न ठूलो आर्थिक चुनौती रहेको निष्कर्ष निकालेको छ। महाधिवेशनका लागि प्रत्येक पार्टी सदस्यबाट कम्तीमा पनि एक सय रुपैयाँ अनलाइन सिस्टमबाट जम्मा गर्दैछौँ’, भट्टराईले भने, ‘हाम्रा आजका मितिसम्म ७ लाख २० हजार पार्टी सदस्य छन्। तर यसको अन्तिम रेकर्ड आउन बाँकी छ। महाधिवेशनका लागि ७ लाख २० हजार पार्टी सदस्यबाट ७ करोड २० लाख रुपैयाँ उठाउँछौँ।’
उनले एक पार्टी सदस्यले एक सय रुपैयाँ मोबाइल या बैंकमार्फत राष्ट्रिय वाणिज्य बैंक टेकु शाखास्थित खाता जम्मा गर्ने बताए। ‘हैसियत हुनेले धेरै रकम जम्मा गर्न पनि सक्छन्ु, उनले भने, ुतर एक सय रुपैयाँ चाहिँ सबै पार्टी सदस्यका लागि अनिवार्य हो।’


विश्व खबर 



















