हेटौंडा-वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।
सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले विपक्षमा मत दिएका छन् । नेकपा एमालेका ३ सांसद मतदानमा अनुपस्थित रहे ।मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएन भने दुई सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो ।
फजुल खर्च घटाउँछु, आम्दानी बढाउँछु
मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए । विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने बताए ।
‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’ उनले भने । मुख्यमन्त्री पाण्डेले असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने र सम्भव योजना पूरा गर्ने पनि बताए ।
उनले समयमा बजेट खर्च गर्न क्यालेन्डर बनाएर काम गर्ने र बजेट खर्चमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने पनि बताए । हालसम्म प्रदेश सरकार सञ्चालन ऐन नरहेको भन्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकार सञ्चालन ऐन ल्याउने पनि बताए ।
निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो
मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह बनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वोच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो ।
सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् ।मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको प्रस्तावमाथि अहिले प्रदेशसभामा मत विभाजन भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् ।
शिक्षकदेखि मुख्यमन्त्रीसम्म
प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।
पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।
उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।
जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।


विश्व खबर 



















