सिन्धुली-नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा अरु कुनै दलसँग तालमेल या गठबन्धन नहुने बताएका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले ‘कुनै पनि कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्त मतदान गर्दैन। यो बेलामा पार्टी जोगाउने नजोगाउने हाम्रो हातमा छ’, थापाले अगाडि भने, ‘कतिपय ठाउँमा हामी चुकेका छौँ। विगतका निर्वाचनमा पनि हामी चितवनसहितका ठाउँमा तालमेल गरेर गल्ती गर्यौँ। यो पटक कांग्रेस एक्लै लडेर बहुमत ल्याउँछ। कसैसँग तालमेल हुँदैन।’
उनले आगामी वैशाखमा स्थानीय चुनाव र मंसिरमा आमचुनाव हुने बताए। ‘अब वैशाखमा स्थानीय तहको चुनाव हुन्छ। मंसिरमा आम चुनाव हुन्छ। अदालतले नै अर्ली इलेक्सन रोकिसकेको छ’, उनले भने, ‘कांग्रेसका कोही नेताले अन्य कोही दलसँग मिलेर चुनाव लड्छु नभने हुन्छ। कांग्रेसको मतदाताले रुख चिन्हबाहेक अन्त मतदान गर्दैन।’
उनले कांग्रेसका हरेक कार्यकर्ताले रुख चिन्हमा मत हाल्दै गर्दा बहुमत ल्याउने गरी लाग्नुपर्ने बताए।
‘कांग्रेस आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने भन्ने हो भने हामीलाई ३१ लाख होइन ४२ लाख मतदाता चाहिन्छ’, थापाले भने, ‘त्यसका लागि हामीले पुराना मतदाता जोगाउनुपर्छ, नयाँलाई फकाउनुपर्छ। कांग्रेस भनेको विचार हो, विचार तलमाथि भएमा गडबड हुन्छ। त्यसैले आफ्नो विचार छाडेर कांग्रेसले अरु चुनाव चिन्हमा भोट हाल्दैन।’
चितवनको निर्वाचनमा हँसिया हथौडामा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो
२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताए। ‘चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो’, उनले भने, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए। हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन।’
उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए।
‘अब ३० लाख नयाँ मतदाता थपिँदैछन्। ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ’, उनले भने, ‘हामीले हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ। बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गाह्रो छ। कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन्।’
काँग्रेसको अधिवेशन सार्ने ठाउँ सकियो
काँग्रेसको १४औं अधिवेशन मंसिरभित्र सम्पन्न नगरे काँग्रेस निर्वाचन आयोगमा पुनः दर्ता गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्वल बरालकी आमाको निधनमा शोक प्रकट गर्न सिन्धुली पुगेका नेता थापाले वडा कार्यालयमा भएको कार्यकर्ता भेलामा काँग्रेसको अधिवेशन सार्ने ठाउँ सकिएकाले अधिवेशन हुँदैन कि भन्ने चिन्ता छोडेर अधिवेशनमा जुट्न आह्वान गरे ।
“मंसिरभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्त्व चयन नगरे पुसको पहिलो साता नेपाली काँग्रेस पार्टी पुनः निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ । १३औं महाधिवेशतनबाट निर्वाचित नेतृत्त्वलाई त्यसपछि आयोग, ऐन र संविधानले चिन्दैन,” नेता थापाले भने, “त्यसैले महाधिवेशन हुन्छ कि हुँदैन भन्ने चिन्ता छोडेर महाधिवेशनको तयारीमा जुट्नुहोस् । अधिवेशन कुनै पनि हालतमा हुनेछ ।”
उनले अधिवेशनमा फलानो मेरो निकट छ भनेरभन्दा फलानो नेतृत्वमा आयो भने जनताको आकर्षण बढ्छ र काँग्रेसलाई विकृति मुक्त बनाउन सकिन्छ भनेर नेतृत्व छान्न पनि सुझाव दिए ।
“१४औं महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले काँग्रेसलाई चार वर्ष हाँक्छ । यसबीचमा हामीले धेरै कुरा गर्नुछ,” थापाले भने, “अधिवेशन सकिएलगत्तै झण्डा उठाएर स्थानीय चुनावमा जानुछ । त्यसैले अधिवेशनमा धेरै तिक्तता नबढाउनुस् । त्यसपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि पार्टीलाई बहुमत दिलाउनुछ । हाम्रो नेतृत्त्व हेरेर जनताले भोट बढाउने वा घटाउने भनेर निर्णय लिनेछन् ।”
उनले अदालतमा जारी विवादमा काँग्रेसले सही अडान नलिए काँग्रेसका लागि क्षति हुने बताए। “अदालतको विषयमा काँग्रेस सही ठाउँमा उभिएन र अदालतभित्रको लडाईमा काँग्रेसले सत्यको पक्ष लिन सकेन भने लाखौं मतदाताले काँग्रेसलाई छोड्न सक्छन् किन भने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा मतदाता घटेको हामीले हेरेका छौं,” थापाले भने। थापाले भने“३० लाख नयाँ मतदाता थपिदै छन् । ती मतदातालाई काँग्रेसलाई मतहाल्ने बनाउनुछ । काँग्रेसको महाधिवेशनबाट नेतृत्व छान्दै गर्दा त्यो नेतृत्वलाई देखाएर गाउँ गाउँका मतदाता आकर्षण गर्नुछ भन्ने कुरा नविर्सनुहोला ।”
उनले काँग्रेसले नयाँ नेतृत्त्व देखाएर ५ वर्ष सुशासन दिन्छौं भनेर आस्वस्त पार्दै भोट माग्नुपर्ने भन्दै वर्तमान नेतृत्त्वलाई नै निरन्तरता दिए त्यसले भोलिका दिनमा काँग्रेसलाई शासन गर्ने ठाउँबाट शासित हुने ठाउँमा पुर्याउने चेतावनी दिए ।


विश्व खबर 




















