images
images
  • केन्द्रीय कमिटी बैठकमा केपी ओली र भीम रावलबीच चर्काचर्की

    काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

    बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए । अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।

    जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए । केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो ।

    रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

    नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो । एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए ।

    मञ्चमा बसेका ओलीले शपथ खुवाइसकेसँगै बैठक सुरु भयो । बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे ।  १० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओली त्यसपछि आक्रोशित देखिए । बैठकमा महाधिवेशन तयारीलगायतका विषय उठान गर्दै ओलीले रावलको चिठीप्रति व्यंग्य मिश्रित आक्रोश पोखे । छेवैमा बसेका उपाध्यक्ष युवराज ज्ञवालीतिर हेर्दै भने, ‘युवराजजी मास्क लगाएर बस्नुभएको छ, अब उहाँलाई मास्क खोल्नुस् भन्नुपर्‍यो भने पनि चिठी लेखिहाल्ने ?’

    उनले नेताहरूमा चिठी लेख्ने मोह बढेको भन्दै असन्तुष्टिलाई बैठकमा स्पष्ट राख्न पनि भनेको बैठकमा सहभागी एक नेताले बताए । चिठी प्रकरणमा बोलिसकेपछि शपथ ग्रहण कार्यक्रम देखेर रिसाएर बसेका भीम रावलमाथि खनिए ओली । उनले १० बुँदे सहमति कार्यान्वयन गराउन नसकेर राजीनामा दिएको बताउँदै अब महाधिवेशन मुखमा आइसकेको भन्दै १० बुँदेको औचित्य सकिएको बताए ।

    अध्यक्ष बोल्दाबोल्दै रावलले ‘हैन कमरेड’ भन्दै रोक्न खोजे । तर, ओली रोकिएनन् । रावलले असन्तुष्टि राख्न थालेपछि अन्य केन्द्रीय सदस्यहरूले १० बुँदे एजेण्डा स्थायी कमिटीमा भएको भन्दै सोही कमिटीको बैठकबाट मिलाउन भनेपछि रावल चुप लागे ।  त्यसलगत्तै ओलीले केन्द्रीय सदस्यको सुझाव र स्थायी कमिटीको पनि सुझाव आएको भन्दै महाधिवेशन प्रतिनिधि बढाउने एजेण्डा पारित गर्नु उपयुक्त हुने बताए । उनको यो एजेण्डामा सबैको सहमति जुटेपछि शुक्रबार बसेको बैठक सकिएको ती नेताको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images