मुस्ताङ मुक्तिनाथ। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति निमार्णका लागी गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष एबं प्रमुख संरक्षक शेष घलेले ५० लाख दिने घोषणा गरेका छन ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति पहिले नै रहेको छ । उक्त क्षेत्रमा ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि एनआरएन आईसीसीका उपाध्यक्ष सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो । मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका हुन । लामाले आफ्नो आमा बुवाको नामबाट उक्त रकम दिने घोषणा गरेका हुन ।
नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घलेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वानपनि गरे । यो अभियानमा धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस, सबैको सम्मान हुने गरी सहभागी गराउने बताए । यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्नेपनि बताईएको छ ।
यो कार्य ब्यक्तिगत नभई राज्यका लागि हुने भएकाले सरकारका तर्फबाट गुरुयोजना हुन सक्यो भने त्यहाँबाट पनि कोशिश गर्ने घलेले बताए । एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्मर घलेपनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन । मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेले उक्त कार्यक्रममा बताए ।



विश्व खबर 























