images
images
  • एएफसी एसियन कप यू–२३ छनोटमा नेपाल र इरान भिड्दै

    काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह बिमा रहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपालले बलियो टिम इरानको सामना गर्दैछ।

    सन् २०१५ मा यू २३ कै एक खेलमा ५–० गोलअन्तरको हार बेहोरेको नेपाल सोमबार जितको लक्ष्यका साथ मैदान उत्रने छ। तर, इरानविरुद्ध जित निकाल्न नेपाली टिमलाई सहज भने छैन।

    त्यो किनभने इरान नेपाली टिमभन्दा निकै बलियो छ। यद्यपि आफूले सकेसम्मको प्रयास गर्ने प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।

    ताजिकिस्तानमा आइतबार प्रिम्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जने नेपाली टिमले राम्रो नतिजाका लागि खेल्ने बताएका छन्। ‘समूह बिमा रहेका हाम्रा सबै विपक्षी राम्रा छन्। त्यो वास्तविकता हो, हामीले स्वीकार गर्नुपर्छ,’ प्रशिक्षक महर्जनले भने, ‘हाम्रो खेलाडीले सकेको प्रयास गर्नेछन्।’

    नेपाली सिनियर टिमले गएको अक्टोबर पहिलो दुई हप्ता साफ च्याम्पियनसिप खेलेको थियो। साफ च्याम्प्यिनसिप खेलेका ६ खेलाडी अहिले यू २३ टिममा छन्। साफका कारण उमेर समूहको टिमको तयारी छोटो भएको प्रशिक्षक महर्जनले बताएका छन्।

    उनले भने, ‘साफपछि हाम्रो तयारी केही हप्ताको मात्र भयो। किनभने धेरै खेलाडी साफमै थिए।’

    नेपाल आज इरानको सामना गर्नेछ भने दोस्रो खेलमा ताजकिस्तान र तेस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। ताजकिस्तानसँगको खेल अक्टोबर २८ मा र लेबनानसँगको खेल अक्टोबर ३१ मा हुनेछ।

    त्यसअघि नेपाली टिमले गएको शुक्रबार इन्डोनएसियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो। गासर सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाल इन्डोनेसियासँग २–० गोलले पराजित भएको थियो। ती खेलबाट पाठ सिकेको र आउँदो सबै प्रतिस्पर्धाको लागि टिम तयार रहेको कप्तान अर्पण कार्कीले बताएका छन्। उनले भने, ‘हामीले राम्रो अभ्यास गरेका छौं। यता छनोटअघि इन्डोनएसियासँगको खेल पनि हाम्रो लागि निकै रह्यो। यसले हाम्रो कमजोरी पत्ता लगाउन सहयोग गर्‍यो,’ उनले भने।

    उनले बलियो टिमको सामना गर्न आफू तयार रहेको बताएका छन्। यदि नेपाल यो समूहको शीर्षस्थानमा रहने सके नेपालले अर्को वर्ष हुने एएफसी कप खेल्नेछ। एएफसी कप २०२२ को जुनमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images